• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

राजावादी आन्दोलनले फेर्दैछ मोड,नयाँ रणनीति तय गर्न आज निर्णायक बैठक

राजसंस्था पुनर्स्थापनाको मागसहित संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा सुरु भएको आन्दोलनले अब नयाँ चरणमा प्रवेश गर्ने तयारी गरेको छ।

आन्दोलनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आज धुम्बाराहीस्थित नवदुर्गा पार्टी प्यालेसमा सबै ४४ राजावादी घटकहरू सम्मिलित बैठक बस्ने तय भएको छ।

गत चैत १५ गतेदेखि सुरु भएको आन्दोलनले पहिलो सातामा उल्लेखनीय जनसहभागिता देखाए पनि सरकारले काठमाडौं बाहेकका स्थानहरूमा निषेधाज्ञा लगाएकोले आन्दोलनको आगामी रणनीति तय गर्न आवश्यक भएको प्रवक्ता स्वागत नेपालले बताएका छन्। उनका अनुसार अबको आन्दोलनको स्वरूप र शैली परिवर्तन हुनेछ। उनले सरकारले आन्दोलन दबाउने शैली देखाएको र यो स्वीकार्य नहुने स्पष्ट पारे।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आन्दोलनबाट बाहिरिएको भनी गरिएको प्रचारप्रति प्रवक्ता नेपालले खण्डन गर्दै राप्रपा आन्दोलनको अग्रपंक्तिमा रहेको दाबी गरे।

राप्रपाले पनि एक विज्ञप्ति जारी गर्दै आफ्ना नेतृत्वबारे सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा फैलाइएका भ्रामक सूचनाप्रति आपत्ति जनाएको छ। प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा राप्रपाले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन दृढ प्रतिबद्धता व्यक्त गरेको छ र भ्रम फैलाउनेहरूविरुद्ध कडा अनुशासनात्मक कारबाही हुने चेतावनी दिइएको छ।