• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अनेरास्ववियु महाधिवेशन : अध्यक्ष मण्डलको प्रस्तावमा असन्तुष्टि, नेतृत्व चयनमा चुनावको माग

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि अध्यक्ष मण्डलले सर्वसम्मत रुपमा नाम प्रस्ताव गरेपछि विवाद उत्पन्न भएको छ।

अध्यक्ष मण्डलका एक सदस्यका अनुसार अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अञ्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरिएको हो। यी नामहरू मंगलबार बन्द सत्रमा प्रस्तुत गरिएका थिए।

तर, प्रस्तावित नामहरूप्रति असन्तुष्ट विद्यार्थीहरूले नाराबाजी गर्दै नेतृत्व चयन निर्वाचनबाट गर्नुपर्ने माग गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सहमतिबाट नेतृत्व तय गर्न भन्दै अध्यक्ष मण्डलका सदस्यहरूलाई बालुवाटार बोलाएर निर्देशन दिएका थिए।

तर अध्यक्ष पदका आकांक्षी दीपक धामीले आफू महासचिव होइन, अध्यक्ष पदकै उम्मेदवार बन्ने तयारीमा रहेको बताएका छन्। उनले भने, “मेरो नाम महासचिवमा प्रस्ताव गरिएको सुनेको छु, तर म अध्यक्षकै उम्मेदवारी दिन छलफलमा छु।”

अध्यक्ष पदकै अर्का आकांक्षी प्रकाश पौडेलले पनि तत्काल निर्वाचन प्रक्रिया सुरु गर्नुपर्ने भन्दै अध्यक्ष मण्डलको ध्यानाकर्षण गराएका छन्। उनले प्रतिनिधिहरूलाई चुनिने अधिकार सुनिश्चित गर्न माग गर्दै निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन्।