• २०८३ साउन २५
  • 2026 August 10, Monday

हेवा खोलामा भाँचिएको बेलिब्रिज प्रकरणमा छानबिन समिति गठन

काठमाडौं।  मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम ४ र हिलिहाङ् ७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णय गरी ५ सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् । सडक विभागका उपमहा निर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थायी रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरी सकेको छ । मन्त्री दाहालले उक्त अप्रत्याशित घट्नाप्रति दुःख व्यक्त गरेका छन् ।