• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

सर्वोच्चले माग्यो टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण

काठमाडौं । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण स्पष्ट गर्न आदेश दिएको छ। रमाका पिता बलदेव बस्नेतले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सोमबार कारण देखाऊ आदेश जारी गरेको हो।

प्रधानमन्त्री र अन्य राजनीतिक नेताहरूलाई गाली गरेको तथा मधेसी समुदायप्रति अपमानजनक टिप्पणी गरी सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा रमा बस्नेतलाई असार १ गते प्रहरीले पक्राउ गरेको थियो।

खोटाङ स्थायी घर भई हाल भक्तपुरमा बस्दै आएकी रमामाथि विद्युतीय अपराधसम्बन्धी अभियोग लगाइएको छ। उनका पिताले उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। अदालतले अब सरकारले रमा बस्नेतलाई थुनामा राख्नुको ठोस आधार देखाउनुपर्ने आदेश दिएको हो।