• २०८३ साउन २५
  • 2026 August 10, Monday

मन्त्री काफ्लेमाथि आरोप​ ल​गाएको भ​न्ने समाचारको प्रदेशसभा सदस्य पहाडीद्वारा खण्डन

काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस नेता रामकुमार पहाडीले बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटसँग सम्बन्धित समाचारप्रति कडा आपत्ति जनाउँदै नयाँ पत्रिकामा प्रकाशित समाचारलाई “कपोलकल्पित, भ्रामक र दुराग्रहपूर्ण” भनेका छन्।

एक विज्ञप्ति जारी गर्दै उनले नयाँ पत्रिकाको प्रकाशित समाचारमा आफ्नो नाम उल्लेख गर्दै मन्त्री कुन्दनराज काफ्लेमाथि संसदीय बैठकमा आरोप लगाएको भनी लेखिएको विवरण पूर्णतः असत्य, आधारहीन र बदनियतपूर्ण भएको जनाएका छन्।

उनले भनेका छन्, “समाचारमा उल्लेख गरिएका कुराहरूमा कुनै पनि सत्यता छैन। समाचार काल्पनिक, अनर्गल र भ्रामक मात्र नभई चरित्र हत्या गर्ने नियतका साथ लेखिएको देखिन्छ।”

प्रदेश सांसद पहाडीले सो समाचारको खण्डन गर्दै आम जनसमुदायलाई यस्ता मनगढन्ते र कपोलकल्पित समाचारप्रति विश्वास नगर्न आग्रह गरेका छन्। साथै उनले समाचारको स्रोतप्रति समेत प्रश्न उठाउँदै नयाँ पत्रिकाका मकवानपुर संवाददाताबाट श्रृंखलाबद्ध रूपमा भ्रम फैलाउने प्रकारका समाचारहरू प्रकाशन हुँदै आएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

“पत्रिकाको विश्वसनीयता माथि प्रश्न खडा हुने गरी रिपोर्टिङ गरिँदा, त्यस संवाददाता कुनै नियोजित योजनाअनुसार परिचालित त होइन भन्ने आशंका समेत जन्मिएको छ,” पहाडीको विज्ञप्तिमा उल्लेख छ।

उक्त घटनाप्रति आफ्नो नाम समेत दुरुपयोग गर्दै समाचार प्रकाशन गरिएको भन्दै उनले समाचारको स्रोत र सम्पूर्ण प्रसंग पुनः परीक्षण गर्न सम्पादकको ध्यानाकर्षण गराएका छन्।

अन्त्यमा पहाडीले नयाँ पत्रिकालाई प्रकाशित समाचारको यथाशीघ्र खण्डन गर्न अनुरोध गर्दै, यथोचित कदम नचालिए कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन्।

“समाचार खण्डन नगरेमा कानुनी उपचार गर्ने जानकारी गराउँदै, पत्रिकाले उत्पन्न भ्रम र चरित्र हत्या गर्ने नियतप्रति जिम्मेवारी लिनु पर्नेछ,” विज्ञप्तिमा भनिएको छ।

कुन्दनराज काफ्लेमाथी लागेको आरोप के थियो ?

बागमती प्रदेशका आर्थिक मामिलासम्बन्धी मन्त्री कुन्दनराज काफ्लेमाथि योजनाको नाममा रकम असुलेको, टुक्रे योजना पार्ने र आफ्नो निर्वाचन क्षेत्रमा अत्यधिक बजेट खन्याएको आरोप लागेको हो।

उनीहरूले मन्त्री काफ्लेले व्यक्तिका नाम, घरको ठेगाना र हुँदै नभएको वडा समेत देखाएर योजना पार्ने, केही योजना त अर्कै प्रदेशभित्र राखिएको आरोपसमेत उक्त पत्रिकाको समाचारमा उल्लेख छ ।यहि कारण बिहीबारका लागि तय गरिएको प्रदेश सभा बैठक नै स्थगित गरिएको हो।

स्थगित बैठकमा बजेट विनियोजन विधेयकमाथि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको थियो।
पार्टीभित्रैबाट यस्तो असन्तुष्टि सार्वजनिक भएपछि मन्त्री काफ्ले र सत्तापक्ष दुबै दबाबमा परेका थिए जसका कारण विज्ञप्ती जारी गर्दै कांग्रेस नेता रामकुमार पहाडीले नया पत्रिकामा प्रकाशित समाचार पूर्णतः असत्य,आधारहीन र बदनियतपूर्ण भएको जनाएका छन् ।