• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

ओडिशामा छात्राको मृत्युको विषयमा प्रदर्शन, अश्रु ग्यासको प्रयोग

ओडिशा । ओडिशाको राजधानी भुवनेश्वरमा एक छात्राको मृत्युको घटनालाई लिएर बीजेडीका कार्यकर्ताहरूले तीव्र विरोध प्रदर्शन गरेका छन्। प्रदर्शन नियन्त्रणमा ल्याउन प्रहरीले अश्रु ग्यास प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको छ।

बीजेडीका विधायक सुशान्त कुमार राउतले समाचार संस्था एएनआईसँग कुरा गर्दै भने, ‘हाम्रो उद्देश्य छात्रालाई न्याय दिलाउनु हो। हामी माग गर्छौं कि मृतक छात्राको परिवारलाई २० लाख होइन, २ करोड रुपैयाँ क्षतिपूर्ति दिनुपर्छ।’

मुख्यमन्त्रीले मंगलबार मृतक छात्राको परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता दिने घोषणा गरेका थिए।

भुवनेश्वरस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचाररत छात्राको मृत्यु भएको हो। यौन उत्पीडनसम्बन्धी उजुरीमा कारवाही नहुँदा पीडित छात्राले शनिबार आत्मदाह गरेकी थिइन्। गम्भीर अवस्थामा उनलाई अस्पताल भर्ना गरिएको थियो।

छात्राले ओडिशाको बालासोरस्थित फकीर मोहन कलेजका एक विभाग प्रमुखसम्बन्धी यौन उत्पीडनको आरोप लगाएकी थिइन्। सोमबार प्रहरीले कलेजका प्रिन्सिपल दिलीप कुमार घोषलाई पक्राउ गरेको छ भने घटनामा संलग्न भनिएका विभागाध्यक्ष समीर साहूलाई पनि यसअघि नै पक्राउ गरिसकेको छ।

छात्राको परिवारले बताएअनुसार उनी लामो समयदेखि यौन उत्पीडनको सिकार बनेकी थिइन्। उनले पटकपटक कलेज प्रशासनमा उजुरी दिए पनि कुनै कारवाही नहुनुका कारण उनले अन्ततः आत्मदाह गर्न बाध्य भएकी थिइन्।