• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

संसदीय दलको नेता फेर्ने दाउमा शेखर, याक एण्ड यतीमा आकस्मिक बैठक

काठमाडौं — नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्ना पक्षधर सांसदहरूसँग आकस्मिक छलफल सुरु गरेका छन्। दरबारमार्गस्थित होटल याक एण्ड यतीमा बोलाइएको यो बैठक अहिले जारी रहेको स्रोतले जनाएको छ।

संस्थापन इतर समूहका एक नेताले कोइरालाले बैठक डाकेको पुष्टि गरेका छन्। हालसम्म बैठकमा सहभागी सांसदहरूसँग रणनीतिक विषयमा छलफल भइरहेको जनाइएको छ।

पछिल्लो समय डा. कोइरालाले पार्टी बाहिरका शीर्ष नेताहरूसँग पनि भेटवार्ता तीव्र पारेका छन्। उनले पूर्वराष्ट्रपति विद्या भण्डारी र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग निवासमै पुगेर भेट गरेका थिए।

कोइराला पक्षका नेताहरूका अनुसार उनी अहिले विभिन्न दलका नेतृत्वसँग निरन्तर संवादमा छन्। यता, कांग्रेसभित्र देउवा निकट भनेर चिनिँदै आएका केही नेताहरू समेत अब कोइराला पक्षमा खुलेको देखिँदैछ, जसले पार्टीभित्रको शक्ति सन्तुलनमा नयाँ मोड ल्याउने संकेत दिएको छ।