• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

कांग्रेस सभापति देउवाले महामन्त्री थापालाई दिए धन्यवाद

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सानेपास्थित केन्द्रीय कार्यालयमा पुस्तकालय स्थापना गरेकोमा महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन्।

पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले पुस्तकालयको निर्माणलाई सकारात्मक पहल भन्दै प्रशंसा गरे। उनले भने, “महामन्त्री गगन थापाजीले केन्द्रीय कार्यालयमा पुस्तकालयको व्यवस्था गरेर राम्रो काम गर्नुभएको छ।”

देउवाले हास्यव्यंग्यको शैलीमा पुस्तकालय माथिल्लो तल्लामा राखिएकोप्रति पनि टिप्पणी गरे। “मैले त तल राखौँ भनेको थिएँ, उहाँले माथि राख्नुभयो। उता त कांग्रेसका नेता कार्यकर्ता पढ्दैनन् भन्ने भनाइ छ, माथि को जान्छ त भन्ने पनि छन्,” उनले भने।

पुस्तकालयमा उपयोगी र स्तरीय पुस्तकहरू रहेको उल्लेख गर्दै देउवाले यसमार्फत पार्टीका विचार, नीति र सिद्धान्त बुझाउने कार्य प्रभावकारी हुन सक्ने धारणा राखे।

कार्यक्रममा पुस्तकालय निर्माणमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानसमेत गरिएको छ।