• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

‘प्रचण्ड’ले भने-‘एमाले होस् वा अरू, महिलाहरू प्रतिनिधित्व भएर आउँदा गर्व लाग्छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रप्रति सबैभन्दा धेरै चिन्ता आफूलाई भएको बताएका छन् ।

गणतन्त्र अगाडि र पछाडिको नेपाल तुलनात्मक अध्ययन पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरूले रगत, पसिना बगाएर ल्याएको भएकाले सबैभन्दा बढी चिन्ता आफूहरूलाई भएको बताए ।

‘प्रचण्ड’ले भने, ‘अभियान चल्दा चल्दै गणतन्त्रमाथि प्रश्न उठेपछि हामी काठमाडौँ आएर विशाल प्रदर्शन त्यतिकै गरेको होइन ।’

उनले कसैले स्वीकार नगरे पनि महिला, दलित, आदिवासी, जनजातिहरूले पाएको अधिकारमा आफूहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । त्यसलाई कसैले अब उल्ट्याउन नसक्ने बताए ।

उनले भने, ‘नेपाली महिलाहरू जुनसुकै पार्टीबाट आए पनि मलाई गर्व लाग्छ । चाहे नेकपा एमाले होस्, नेपाली काँग्रेस वा अरू दलबाट प्रतिनिधित्व भएर महिलाहरू आउँदा मलाई गर्व लाग्छ । हामीले गरेको औचित्य प्रमाणित भएको छ भनेर। यदि हामीले त्यो विद्रोह नगरेको भए यो स्थिति हुने थिएन ।’