• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

कुलिङ पिरियड प्रकरणमा संसदीय छानबिन समितिको म्याद एक साताका लागि थप

काठमाडौँ । प्रतिनिधि सभाले संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ मा त्रुटि भएको विषयमा छानबिन गर्न गठित समितिको म्याद ७ दिन थप भएको छ।

समिति अध्यक्ष जीवन परियारले कुलिङ पिरियडमा भएको त्रुटिमा अनुसन्धान गर्न समय अपुग भएकाले समय थप गरिदिन भन्दै सभामुख देवराज घिमिरेसमक्ष निवेदन दिएका थिए।

सभामुख घिमिरेले शुक्रबारको प्रतिनिधिसभा बैठकमा समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।  बैठकले उक्त प्रस्ताव सर्वसम्मतिले पास गरेको छ।

समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको म्याद दिएको थियो। काँग्रेस सांसद जीवन परियारको संयोजकत्वमा २३ असारमा समिति गठन गरिएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिँदै छ। संघीय निजामती सेवा विधेयकमा उल्लेख कुलिङ अफ पिरियडमा भएको छेडखानीको अध्ययन तथा छानबिन गर्न प्रतिनिधिसभाले सात सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ।

समितिमा काँग्रेसकी सुशीला थिङ, एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।