• २०८३ साउन २८
  • 2026 August 13, Thursday

ओलीको पुरानो पुस्तक देखाउँदै कर्ण थापाले भने– पहिले पढ्नुस्, अनि बहस गर्न आउनुस्

काठमाडौं। नेकपा (एमाले) का स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा लिखित पुरानो पुस्तक सामाजिक सञ्जालमा प्रस्तुत गर्दै वैचारिक बहसका लागि आह्वान गरेका छन्। थापाले ओलीद्वारा लिखित ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ नामक पुस्तकको तस्बिर फेसबुकमा पोस्ट गर्दै त्यसलाई गहिरिएर पढेपछि मात्र बहसमा आउन चुनौती दिएका हुन्।

आफ्नो फेसबुक पोस्टमा थापाले लेखेका छन्, ‘यस पुस्तकलाई सकेजति गहिरिएर पढ्नु। अनि बहस गर्न आउनु। यी मान्यता मानेको भए एमालेको बहसको विषय व्यक्ति केन्द्रित होइन, नेपाली विशेषताको समाजवाद बारे हुने थियो।’ उनले गालीगलौज गर्नेहरुले बहस गर्ने ठाउँ नै नपाउने उल्लेख गर्दै गाली गरेकै भरमा र डराएकै कारणले सत्यलाई छाड्न नसकिने बताएका छन्।

थापाले प्रस्तुत गरेको पुस्तक ‘जबज र पार्टी जीवनको लोकतान्त्रिकरण’ एमालेको वैचारिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) र पार्टीभित्रको लोकतन्त्रमा केन्द्रित छ। यो पुस्तक मदन भण्डारी फाउण्डेशनले प्रकाशन गरेको हो र यसमा पार्टी, राज्य र समग्र समाजको लोकतान्त्रिकरणलाई आजको अपरिहार्य आवश्यकताको रुपमा व्याख्या गरिएको छ।