• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

हितराज पाण्डे: ‘जनार्दनले सदनमा फरक धारणा राख्छन्, नेतृत्वसँग टेर्नन्’

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी नेतृत्वलाई नटेरेको आरोप लगाएका छन् ।

संसदमा बोल्दा पनि शर्माले पार्टीलाई स्थापित गर्ने भन्दा पनि आफूलाई फरक देखाउन खोजेको उनको आरोप छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा जारी स्थायी कमिटी बैठकमा बोल्दै पाण्डेले भने, ‘अन्तरिमकालदेखि प्रभाकर सदन, सरकारमा भएर पनि सदनमा बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्ने भन्दा पनि आफू फरक हुँ भन्ने गरी बोल्नुहुन्छ ।’

सदनमा दिएका अभिव्यक्तिले नेतृत्वमाथि नै संशय पैदा गर्ने गरेको भन्दै उनले शर्माको धारणा र विचार पार्टी लाइनभन्दा भिन्न सुनिन थालेको आरोप लगाए।

‘संसदको मर्यादाभित्र रहेर पनि नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा सहभागी पार्टीका तर्फबाट स्पष्ट धारणा नबोल्ने तथा आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ’, बैठकमा  पाण्डेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

जारी स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले आत्मालोचना गर्नुपर्नेमा नेतृत्वलाई झन् आरोपित गर्न लागेको आरोप उनले लगाए ।