• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

कैलाली कारागारभित्र थुनुवाको निधन

कैलाली । कैलाली कारागारमा एक थुनुवाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरीको सोमबार दिउँसो मृत्यु भएको कारागार प्रशासनले जनाएको छ।

जबरजस्तीकरणी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका चौधरीले दिउँसो टाउको दुखेको बताएका थिए। त्यसपछि उनलाई सेती प्रादेशिक अस्पताल लगिएको कारागारका जेलर प्रकाश ढुंगानाले जानकारी दिए। अस्पतालमा उपचारका क्रममा दिउँसो करिब २ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको उनले बताए।

भदौ २९ गते पुर्पक्षमा कारागार आएका चौधरीको मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र थाहा हुने कारागार प्रशासनले जनाएको छ।