• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अफगानिस्तानमा शक्तिशाली भूकम्प, ६०० जनाभन्दा बढीको मृत्यु

काठमाडाैं । अफगानिस्तानको पूर्वी भागमा गएको ६ दशमलव ० रेक्टरकाे भूकम्पमा अहिलेसम्म ६०० भन्दा बढी मानिसको मृत्यु भएको खबर आएको छ भने १५०० भन्दा बढी घाइते भएका छन्।

भूकम्पको केन्द्र अफगानिस्तानको पाँचौं ठूलो शहर जलालाबादबाट २७ किलोमिटर टाढा, सतहदेखि करिब १० किलोमिटर गहिराईमा थियो।

मध्यराति आएको यस भूकम्पका कारण माटो र ढुंगाबाट बनेका घरहरू भत्किएका छन्। भूकम्पका झट्का त्यहाँबाट करिब ४०० किलोमिटर टाढा पाकिस्तानको राजधानी इस्लामाबादसम्म पनि महसुस गरिएका थिए।

भूकम्पले टाढा र दुर्गम पहाडी क्षेत्रलाई असर पारेको छ, जहाँ मोबाइल सिग्नलको पहुँच सीमित छ र भूस्खलनका कारण सडकहरू बन्द भएका छन्।

६ म्याग्नेच्यूडको कम्पनपछि ४.५ देखि ५.२ तीव्रताका कम्तीमा तीन पराकम्प पनि आएका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार मृतकको संख्या बढ्न सक्नेछ। भूकम्प प्रभावित क्षेत्र दुर्गम र पहाडी इलाकामा रहेकाले मृतकको संख्या बढ्न सक्ने भनिएको छ।

त्यहाँका अधिकांश घरहरू भूकम्प प्रतिरोधी संरचना नभएकाले क्षति बढेको बताइएको छ।

तालिबान सरकारका अधिकारीहरूले राहत तथा उद्धार संस्थाहरूसँग सहयोगको अपिल गरेका छन्।

तालिबान अधिकारीहरूले आफूहरूसँग सीमित स्रोत भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाहरूसँग हेलिकप्टरसहित सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।