• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

जगदीश खरेल: राजावादी, एमाले हुँदै काँग्रेस, जेनजीको पालामा सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न लागेका पत्रकार जगदीश खरेल नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेको खुलेको छ । प्रधानमन्त्री सुशीला कार्कीले सञ्चार मन्त्रीका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिएका खरेल नेपाली काँग्रेसको क्रियाशील सदस्य रहेको पाइएको हो ।

खरेल काँग्रेसको १४औँ महाधिवेशनमा दोलखाबाट क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका थिए । काँग्रेस दोलखाका तत्कालीन जिल्ला सभापति रुद्र खड्काले खरेल दोलखाको कालिन्चोक गाउँपालिका वडा नम्बर-७ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि निर्वाचित भएको पुष्टि गरे । खड्काले भने, “जगदीश खरेलजीलाई पार्टी जिल्ला सभापतिको हैसियतमा मैले नै सदस्यता दिएको हुँ । उहाँसँगै त्यसबेला विश्व साइकल यात्री पुष्कर शाहलाई पनि सदस्यता दिएको थिएँ ।”

काँग्रेसको १४औँ महाधिवेशनताका जिल्लागत क्रियाशील सदस्यहरूको नामावलीमा खरेलको नाम १५३ नम्बरमा थियो । खड्काका अनुसार खरेल काँग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा उठ्न समेत खोजेका थिए ।

“उहाँले १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि बन्न चाहनुभएको थियो, मैले पनि उहाँलाई प्रतिनिधि बनाउन खुबै कोसिस गरेको थिएँ, तर विविध कारणले सकिएन,” खड्काले बताए । यद्यपि, खरेलले काँग्रेसको सदस्यता नवीकरण गरे/नगरेको भने आफूलाई थाहा नभएको खड्काले बताए ।

काँगेसको दोलखा, कालिन्चोक गाउँपालिका वडा नम्बर-७ मा नवीकरण गराएका क्रियाशील सदस्यहरूको सूचीमा ११८ जनाको नाम छ । त्यस सूचीमा खरेलको नाम भने देखिँदैन । त्यसैले खरेलले सदस्यता नवीकरण नगराएको हुन सक्छ । यसबारे पुष्टि गर्न कोसिस गर्दा खरेलसँग सम्पर्क हुन सकेन ।

उसो राजतन्त्र छँदा खरेल राप्रपाको विद्यार्थी सङ्घको जिल्ला अध्यक्ष समेत भएका थिए । २०७४ सालमा भएको आम निर्वाचनमा खरेल नेकपा एमालेसँग नजिकिएका थिए । त्यसपछि उनी काँग्रेसको राजनीतिमा प्रवेश गरे ।

तर २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले केपी ओली सरकारलाई हटाउँदै सुशीला काकीको नेतृत्वमा सरकार बनाएको छ । गैर राजनैतिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाउने बताउँदै आएकी कार्कीको सरकारको मुख पत्रको भूमिका रहने सञ्चार मन्त्रीको भूमिकामा खरेल देखा पर्न लागेका हुन् । पत्रकारका रूपमा इमेज च्यानलको ‘हट सिट’ मा बस्दा व्यावसायिकता प्रदर्शन गर्दै खरो प्रश्न सोध्ने खरेल सञ्चार मन्त्रीका रूपमा कत्तिको खरो उत्रन सक्छन्, त्यो भने हेर्न बाँकी छ ।