• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

अस्थायी डाइभर्सन बनेपछि बिपी राजमार्गमा सवारी चाप

रामेछाप । बाढीले सडक बगाएको ठाउँमा अस्थायी डाइभर्सन बनाएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । रोशी खोलमा आएको बाढीले बगाएको सडकमा अस्थायी डाइभर्सन बनाएपछि शुक्रबार साँझबाट यातायात सञ्चालन भएको हो ।

गत असोज १७ गते रातिदेखि तीन दिनसम्मको अविरल वर्षाले बिपी राजमार्गको काभ्रे खण्डमा चौकिडाँडादेवी माम्तिसम्म १४ ठाउँभन्दा बढी स्थानमा क्षति पुर्‍याएको थियो ।

त्यस्तै सिन्धुली खण्डको नेपालथोकदेखि वर्षेखोलासम्म दुई ठाउँमा क्षति पुर्‍याको थियो । रोशीखोला खण्डमा करिब ५ किलोमिटर सडकमा बाढीले क्षति पुर्‍याउँदा असोज १७ गते साँझदेखि यातायात अवरुद्ध थियो ।

सडक डिभिजन कार्यालय भक्तपुर, सडक डिभिजन कार्यालय खाल्टे सिन्धुली, सडक विभाग लगायतको प्राविधिक टिम, उपकरण तथा सो सडक निर्माणको जिम्मा लिएका निर्माण कम्पनी समेतको लगातार एक हप्ताको प्रयासपछि बाढीले क्षति पुर्‍याएको सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा आएको हो ।

काठमाडौंबाट पूर्व जाने दैनिक सयौँ यातायात साधन गुड्ने बिपी राजमार्गमा क्षति पुग्दा दशैँ सकेर काठमाडौं फर्कनेले निक्कै सास्ती खेपेका थिए ।

यो सडक अवरुद्ध हुँदा काठमाडौंबाट पूर्वका सिन्धुली, रामेछाप लगायत कोशी प्रदेश तथा मधेस प्रदेशका केही जिल्ला आउजाउ गर्ने यात्रुले सिन्धुलीको खुर्कोटबाट रामेछाप हुँदै दोलखा पुगेर अरनिको राजमार्ग निस्किएर वा पूर्व–पश्चिम राजमार्गको हेटौँडा र नारायणघाट हुँदै मुग्लिनको बाटो घुमेर आउजाउ गर्नुपर्ने बाध्यता थियो । सडक बनेपछि स्थानीयलाई काठमाडौं आउजाउ गर्न सहज भएको छ ।