• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रवीन्द्र मिश्रलाई नेताको दैलो चहार्न छोडेर क्षेत्रीय समितिको सामना गर्न मदनदासको चुनौती

काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाएर हिँड्नुभन्दा आफ्नै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सामना गर्न चुनौती दिएका छन् ।

मिश्रले पार्टीका पूर्व अध्यक्ष पशुपतिशमशेर राणाको भिडियो खिचेर सामाजिक सञ्जालमार्फत क्षेत्रीय समितिको निर्णयलाई चुनौती दिएको उनको भनाइ छ ।

मदनदास भन्छन्, ‘म सहितको उपस्थितिमा ११ जना सदस्यले गरेको निर्णय सार्वजनिक भैसकेको छ। हामीले क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा सिफारिस गरिएका उम्मेदवारबारे स्पष्ट पारेका छौं । रवीन्द्र जी सिफारिसमा परेका छैनन् । उनले अवैध ढंगले आफैँले सिफारिसको हल्ला मच्चाएपछि हामीले बैठक बसेर त्यो भ्रममा नपर्नु आग्रह गरेका हौं ।’

मिश्रले कमजोरी स्वीकार नगरी बलजफ्ती गरिरहेकाले उनलाई महङ्गो पर्ने बताउँछन् समिति सदस्य विनोद दवाडी । दवाडी भन्छन् ‘पशुपतिशम्शेर राणासहित प्रत्यक्षमा ४ जना र समानुपातिकमा डा. जयन्त खनालसहित ६ जना सिफारिस भएका छन् । पहिलो नम्बरमा रहेका राणालाई उम्मेदवार बन्दिन भन्ने हक छ । उनी नभए दोस्रो नम्बरका शोभित उप्रेती स्वत: उम्मेदवार बन्छन् ।’

‘जहाँसम्म रवीन्द्र मिश्रको सिफारिस भएको कुरा छ त्यो शतप्रतिशत बेइमानी र कीर्ते हो । मिश्र सिफारिस भएको पत्रको मितिबाटै त्यो गलत भएको सिद्व हुन्छ’ दवाडी भन्छन् ।

मिश्र सिफारिस भएको मिति ०८२ भदौ ६ गते रहेको छ । जेनजी आन्दोलन हुनु अगावै सिफारिसको मिति राख्नु मिश्रको हतास मनस्थितिको उपज देखिन्छ । उनले अध्यक्ष रामेश्वर श्रेष्ठलाई झुक्याएर हस्ताक्षर गराएको दुवाडी बताउँछन् ।

मिश्रले पशुपतिशमशेरको भिडियो आफैँले सामाजिक सञ्जालमा राखेपछि काठमाडाैं क्षेत्र नं १ को क्षेत्रीय समितिलगायत कार्यकर्ता रविन्द्र मिश्र विरुद्द खनिएका छन् ।

यदि रविन्द्र मिश्रको १ नं क्षत्रमा उम्मेदवारीको दावी रह्यो भने राप्रपाको १ नम्बरमा ठूलो विद्रोह हुने दवाडीले चेतावनी दिए ।

यो पनि पढ्नुहोस् ।

काठमाडौं १ मा उम्मेदवार हुने मेरो नियत छैन : पशुपति शम्शेर राणा

रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपति शमशेरलाई हो, रवीन्द्रको अफवाह