• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

पुटिनको निवासमा ९१ ड्रोन प्रहारको आरोप: रिसाए ट्रम्प, जेलेन्स्कीद्वारा खण्डन

रूसले राष्ट्रपति भ्लादिमिर पुटिनको सरकारी निवासमा युक्रेनले भीषण ड्रोन हमला गरेको आरोप लगाएको छ। रूसी विदेशमन्त्री सर्गेई लाभरोभले रूसको उत्तर–पश्चिम नोभगोरोड क्षेत्रमा रहेको पुटिनको सरकारी निवासलाई लक्षित गर्दै युक्रेनले ९१ वटा ड्रोन प्रहार गरेको दाबी गरेका हुन्।

विदेशमन्त्री लाभरोभका अनुसार आइतबार राति यो आक्रमण प्रयास भएको हो। यद्यपि, रूसी हवाई प्रतिरक्षा प्रणालीले सबै ड्रोन खसालेको र कुनै मानवीय वा भौतिक क्षति नभएको उनले दाबी गरेका छन्। उनले युक्रेनको यो कदमलाई ‘राज्य आतंकवाद’ को संज्ञा दिँदै यसले शान्ति वार्तामा रूसको अडानलाई प्रभावित पार्न सक्ने चेतावनी दिएका छन्।

घटनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर चासो व्यक्त गरेका छन्। सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूलाई पुटिन स्वयंले फोन गरेर घटनाबारे जानकारी दिएको बताए।

‘तपाईंहरूलाई थाहा छ मलाई कसले जानकारी दियो? पुटिनले। उहाँले फोन गरेर आफू आक्रमणमा परेको बताउनुभयो,’ ट्रम्पले पत्रकारहरूसँग भने। उनले शान्ति वार्ताको प्रयास भइरहेका बेला यस्तो गतिविधि हुनु उचित नभएको भन्दै असन्तुष्टि जनाए। ‘यो त्यस्ता गतिविधि गर्ने उचित समय होइन। मैले यो कुरा राष्ट्रपति पुटिनबाटै थाहा पाएँ। त्यो सुनेर म साह्रै रिसाएको छु’, ट्रम्पले भने।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रूसी आरोपको ठाडो खण्डन गरेका छन् । उनले यसलाई शान्ति वार्ता भाँड्न र युक्रेनमाथि थप आक्रमण गर्न क्रेमलिनले रचेको बहाना (फल्स फ्ल्याग) भएको बताएका छन्।

यो घटनाक्रम अमेरिका र युक्रेनबीच फ्लोरिडामा भएको उच्चस्तरीय वार्तापछि सार्वजनिक भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच युद्ध अन्त्यका लागि संशोधित शान्ति योजनाबारे छलफल भएको थियो।

वार्तापछि जेलेन्स्कीले सन् २०२६ भित्र युद्ध अन्त्य हुने सम्भावना रहेको बताए पनि अमेरिकी सहयोगबिना युक्रेनले युद्ध जित्न नसक्ने स्पष्ट पारेका थिए। अमेरिकी सञ्चारमाध्यम फक्स न्युजसँगको अन्तर्वार्तामा जेलेन्स्कीले राष्ट्रपति ट्रम्प रूसमाथि कडा आर्थिक तथा प्रतिबन्धात्मक कदम चाल्न तयार देखिएको उल्लेख गर्दै यसले शान्ति प्रक्रिया छिटो अघि बढ्न सक्ने विश्वास व्यक्त गरे।

जेलेन्स्कीका अनुसार अमेरिकाले युक्रेनलाई १५ वर्षका लागि सुरक्षा ग्यारेन्टीको प्रस्ताव गरेको छ, जसमा करिब ९५ प्रतिशत सहमति भइसकेको छ। तर, भू–भागसम्बन्धी विषय र रूसको नियन्त्रणमा रहेको जापोरिज्झिया परमाणु ऊर्जा केन्द्रको भविष्यबारे अझै टुंगो लाग्न बाँकी छ।

हाल रूसले दोनेत्स्क क्षेत्रको करिब ७५ प्रतिशत र लुहान्स्क क्षेत्रको झन्डै ९९ प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ। यी दुई क्षेत्र (डोनबास) लाई रूस पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, जुन वार्ताको मुख्य पेचिलो विषय बनेको छ।