• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

थाइल्याण्डमा गुडिरहेको रेलमा क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, ८० जना घाइते

काठमाडौं । बैंककबाट थाइल्याण्डको उत्तर–पूर्वतर्फ गइरहेको रेलमा निर्माणाधीन क्रेन खसेपछि रेल दुर्घटनाग्रस्त भएको छ। थाइल्याण्डको उत्तर–पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक रेलमा निर्माण कार्यमा प्रयोग भइरहेको क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

यो दुर्घटना बुधबार बिहान बैंककबाट २३० किलोमिटर उत्तर–पूर्वमा पर्ने नाखोन रत्चासिमा प्रान्तको सिखियो जिल्लामा भएको हो। उक्त रेल थाई राजधानी बैंककबाट उबोन रत्चाथानी प्रान्ततर्फ गइरहेको थियो । रेलका तीनवटा डिब्बामा क्रेन खसेपछि रेल लिकबाट बाहिरिएको थियो र केही बेर आगलागी समेत भएको थियो।

स्थानीय प्रहरीका अनुसार भग्नावशेषमा अझै केही शवहरू हुन सक्ने अनुमान गरिएको छ। उक्त क्रेन हाल सञ्चालनमा रहेको रेल मार्गमाथि निर्माण भइरहेको उच्च गतिको रेल परियोजनाको काममा प्रयोग भइरहेको थियो।

सार्वजनिक भएका तस्बिरहरूमा रेलका डिब्बाहरू पल्टिएको र उद्धारकर्मीहरू आगो निभाइरहेको देख्न सकिन्छ। थाइल्याण्डमा हाल विद्यमान रेल सञ्जालभन्दा माथि रहने गरी विभिन्न उच्च गतिको रेल मार्गहरू निर्माण भइरहेका छन्।