• २०८३ साउन २८
  • 2026 August 13, Thursday

आँट र जोखिम लिएर मधेश झरेँ : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा आफूले सजिलो बाटो छोडेर कठिन बाटो रोजेको बताएका छन् । शनिबार काठमाडौंमा भएको सर्लाहीका मतदातासँगको अन्तरक्रिया कार्यक्रममा उनले विशेष महाधिवेशनमा सबैको साथ नपाएको भए पार्टीबाट निस्कासित सदस्यको रुपमा रहने उल्लेख गर्दै आफ्नो लडाइँ लड्नको लागि सजिलो बाटो छाडेको बताएका हुन् ।

उनले भने, ‘मैंले पार्टीमा सजिलो बाटो छाडेर कठिन बाटो रोजेको हुँ । म पाँच वर्षको लागि काङ्ग्रेसबाट भर्खरै निकालिएको थिएँ । विशेष महाधिवेशनमा साथीहरुले साथ नदिनु भएको भए आज म पार्टीबाट निस्कासित सदस्यको रुपमा तपाईहरुको बीचमा उभिएको हुन्थें । म आफ्नो लडाई लड्नुपर्छ, आफ्नो कर्म गर्नुपर्छ बाँकी नियतिको हातमा छ भनेर विश्वास गर्ने मान्छे हो । त्यसकारण आफ्नो लडाईं लडेको हो । सजिलो बाटो रोजेर सजिलो ठाँउमा बसेको होइन् ।’

यस्तै, उनले काँग्रेस पार्टीलाई मधेशले नै बनाएको भन्दै यसपाली आँट र जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरेको बताए । राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुदैँन् त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्ने भन्दै एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेँ भने बल्ल नेपालको राष्ट्रिय नेता हुने उनको भनाई छ ।

उनले भने, ‘राष्ट्रिय नेता भनेको राष्ट्रिय पार्टीको नेता भएर मात्र हुँदैन् । त्यसले सिंगो राष्ट्रको अंश आफूभित्र राख्न सक्नुपर्छ । काँग्रेस पार्टीलाई मधेशले नै बनाएको हो त्यसकारण यसपाली मैले आँट गरेर, जोखिम लिएर भएपनि आफूलाई मधेशमा समर्पित गरे । एकपटक मधेशको नेतृत्व गर्ने प्रयास गरेँ भने बल्ल म नेपालको राष्ट्रिय नेता हुन सक्छु । त्यसको लागि म जाने हो, मधेश जाने हो, त्यहीको साथीहरुसँग जाने हो, भिज्ने हो ।’