• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

मत परिणामबाट कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन : शंकर तिवारी

काठमाडौं । नेपाली कांग्रेसका नेता, राजनीतिक विश्लेषक एवम लेखक शंकर तिवारीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले ल्याएको मत परिणामबाट कांग्रेस अतालिनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिएका छन् ।

शनिबार एक प्रेस वक्तव्य जारी गर्दै तिवारीले कुनैपनि निर्वाचनको परिणाम चिरकालिक नहुने, खास समयको खास अभिव्यक्ति मात्र हुने, त्यसको औचित्य विविध कारणले समयभन्दा अगाडि क्षयीकरण भएर जाने औंल्याएका छन् ।

‘कांग्रेस पार्टीले लिएको मध्यमार्गी बाटो नै प्रत्येक संकटमा देश र जनताले खोजेको निकासको बाटो साबित भएको छ। आफ्ना सिद्धान्त र आदर्शको ठेगाना नभएको, संविधानकाप्रतिको अपनत्व सिद्ध नभएको र औपचारिक रूपमा पार्टीको आकार ग्रहण नगरिसकेको शक्तिले प्राप्त गरेको मतबाट नेपाली कांग्रेस हतास हुनुपर्ने र अत्तालिनुपर्ने केही पनि छैन,’ उनले लेखेका छन् ।

नेता तिवारीले वक्तव्यमा भनेका छन्,‘नेपाली कांग्रेसलाई समयानुकूल बनाउन विशेष महाधिवेशनको उपलब्धिहरूलाई जगेर्ना गरेर अगाडि बढ्नुभन्दा अर्को विकल्प छैन। पार्टी भित्रको उकुसमुकुस वैधानिक रुपमा विस्फोट भएको विशेष महाधिवेशन माथि प्रश्न गर्नु पश्चगमनको यात्रा हुनेछ। हामीले बिर्सन नहुने तथ्य के हो भने हामीले विशेष महाधिवेशनमार्फत अत्यन्त ढिलो गरिकन रोगको निदान खोजेको रहेछौं । उक्त सत्यलाई हृदयङ्गम गरेर हामीले यथाशीघ्र नियमित महाधिवेशनतर्फ अग्रसर हुनुपर्छ। त्यसका लागि विशेष महाधिवेशनबाट निर्वाचित भएको नेतृत्वले सुझबुझ पूर्वक निर्णय लिएर मार्ग प्रशस्त गर्नुपर्छ।’