• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

ट्रेड युनियन खारेज गर्नु भनेको संवैधानिक अधिकार खारेज गर्नु हो : कांग्रेस नेता स्वाँर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य विजयबहादुर स्वाँरले ट्रेड युनियन खारेजीको बहसप्रति आपत्ति जनाउँदै सुधारको बाटो रोज्न आग्रह गरेका छन् ।

बुधबार बसेको कांग्रेसको केन्द्रिय कार्यसम्पादन बैठकमा बोल्दै उनले ट्रेड युनियन खारेज गर्ने विषय संवैधानिक अधिकारसँग जोडिएको महत्वपूर्ण मुद्दा भएको बताएका हुन् ।

उनले भने, ‘ट्रेड युनियनको विषयमा धेरै कुरा आएको छ, खारेज गर्ने भन्ने । यसमा ट्रेड युनियनमा भएका विकृतिहरू सुधार गर्नुपर्छ, त्यसमा कुनै समस्या छैन । तर ट्रेड युनियन नै खारेज गर्ने भनेको त संवैधानिक अधिकार नै खारेज गर्ने हो । नेपाली कांग्रेसको जन्मदाता नै ट्रेड युनियन हो, त्यसैले यसलाई नास्ने खालको अभिव्यक्ति नेपाली कांग्रेसका सदस्यले दिनु हुँदैन ।’

स्वारले पार्टीभित्र ट्रेड युनियन सम्बन्धी स्पष्ट दृष्टिकोण चाँडै ल्याउनुपर्नेमा जोड दिँदै यसको संरक्षणका लागि सरोकारवालासँग छलफल गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले भने, ‘हाम्रो जग नै ट्रेड युनियन हो । यदि त्यो कमजोर भयो भने पार्टीको आधार नै कमजोर हुन्छ । त्यसैले ट्रेड युनियनसँग बसेर चाँडै छलफल गर्नुपर्छ यो आग्रह गरे।’