• २०८३ साउन २६
  • 2026 August 11, Tuesday

रास्वपा सांसद गणेश कार्कीको अध्यादेश बारे टिप्पणी : दुई तिहाइ ल्याएको पार्टीको लागि यो बहादुरी होइन !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले आफ्नै सरकारले ल्याएको अध्यादेश बारे टिप्पणी गर्दै यो बहादुरी नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद कार्कीले झन्डै दुई तिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरू नै भन्ने पछि खुल्ला तर यो बहादुरी भने नभएको टिप्पणी गरेका हुन् ।

उनले भनेका छन्- ‘अध्यादेश सिफारिस भएको भन्ने कुरा, झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन ।’

सांसद कार्कीले अध्यादेश सँधै संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित रहेको भएपनि संविधानको मर्ममा नआएको उल्लेख गरेका छन् ।

संविधान अक्षरले बाँच्ने दस्तावेज नभएको बताउँदै उनले मर्मको पालनाले जीवन्त रहने र संविधानका अक्षरले संविधानको मर्मलाई सिमित नगरोस् भनेका छन् ।

साथै, उनले विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदा मैले उठाएका प्रश्नहरू अहिले पनि जीवित रहेको उनले उल्लेख गरेका छन् ।