• २०८३ साउन २९
  • 2026 August 14, Friday

सामाजिक सद्भावमा खलल पु‍र्याउने कार्यप्रति नाडा चिन्तित, संयमता अपनाउन आग्रह

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले पूर्वी नेपाल, विशेषगरी सुनसरी जिल्लाको कप्तानगञ्ज लगायत तराईका केही जिल्लाहरूमा पछिल्लो समय देखापरेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम तथा त्यसबाट सिर्जित असहज परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै नाडाले कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पु‍र्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन नसक्ने बताएको हो।

नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र हो। विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अनुपम उदाहरणका रूपमा नेपाल विश्वमै परिचित रहँदै आएको छ। यही सामाजिक एकता र राष्ट्रिय सद्भाव हाम्रो सबैभन्दा ठूलो शक्ति हो, नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति तथा मागहरू शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट अभिव्यक्त गर्ने मौलिक हक सुनिश्चित गरेको छ। तर, कुनै पनि प्रकारका हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पु‍र्याउने कार्य कुनै पनि दृष्टिकोणबाट स्वीकार्य हुन सक्दैन।”

यस्ता घटनाले केवल शान्ति सुरक्षा र सामाजिक सद्भावमा मात्र असर पु‍र्याउँदैन, आम नागरिकको दैनिक जीवन, उद्योग-व्यवसाय, लगानी, आर्थिक गतिविधि तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत प्रतिकूल प्रभाव पार्ने र विशेष गरी यसले सबैलाई असर पुग्ने भएकाले सम्पूर्ण व्यवसायी समुदाय यसबाट चिन्तित रहेको नाडाले उल्लेख गरेको छ।

यस्तै, सम्पूर्ण सम्बन्धित पक्षहरूलाई संयमता अपनाउन, कानुनी तथा लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न र नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न अनुरोध गरिएको छ।