काठमाडौँ। विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाई) को पाकिस्तानस्थित ब्रड पिक हिमालमा गएको हिमपहिरोमा निधन भएको छ। पुर्जा स्थापना गरेको कम्पनी इलिट एक्सपेड ले शनिबार शोक वक्तव्य जारी गर्दै उनको निधनको पुष्टि गरेको हो।
बिहीबार आरोहणका क्रममा गएको हिमपहिरोमा उनीसहित १० जना बेपत्ता भएका थिए।
कम्पनीका अनुसार उक्त दुर्घटनामा पुर्जासँगै उनका विश्वसनीय सहयोगी तथा गाइडहरू पुरबहादुर गुरुङ र निमा शेर्पाको पनि ज्यान गएको छ। अभियानमा सहभागी अन्य सदस्यहरू पनि जीवित नरहेको कम्पनीले जनाएको छ। बेपत्ता भएकामध्ये ६ जना नेपाली पर्वतारोही थिए भने चार जनाको शव यसअघि नै फेला परेको थियो।
शनिबार बिहान ड्रोन सर्वेक्षणका क्रममा क्याम्प–१ नजिक थप पाँच शव भेटिएपछि उद्धार टोली घटनास्थल पुगेको थियो।
शोक वक्तव्यमा इलिट एक्सपेडले पुर्जाको निधनलाई विश्व पर्वतारोहण समुदायका लागि अपूरणीय क्षति भनेको छ। साहस, नेतृत्व, विनम्रता र दृढ संकल्पका कारण उनले लाखौं मानिसलाई आफ्ना सीमाभन्दा माथि उठ्न प्रेरित गरेको कम्पनीको भनाइ छ। यसका साथै, इलिट एक्सपेड, निम्सदाइ फाउन्डेसन, स्काइडाइभ निम्सदाइ र निम्सदाइ स्टोरलाई आजको स्थानसम्म पुर्याउन उनको दूरदृष्टि निर्णायक रहेको उल्लेख गर्दै प्रभावित परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरिएको छ।
पूर्व बेलायती गोर्खा सैनिक तथा बेलायती रोयल नेभीको स्पेसल बोट सर्भिसमा छनोट हुने पहिलो नेपाली बनेका पुर्जाले करिब १६ वर्ष सैनिक सेवा गरेका थिए। सैनिक सेवापछि उनी पर्वतारोहणमा सक्रिय बने र सन् २०१९ मा ‘प्रोजेक्ट पसिबल’ अन्तर्गत विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै विश्व कीर्तिमान कायम गरेका थिए।