काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि पुराना बक्यौता महशुल भुक्तानीमा विशेष सहुलियतको घोषणा गरेको छ। टेलिकमले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता रकम भुक्तानी गर्दा लाग्ने जरिवानामा पूर्ण छुट दिने निर्णय गरेको हो।
टेलिकमका अनुसार, ग्राहकहरूले २०८३ साल पौष मसान्तभित्र आफ्नो बक्यौता रकम भुक्तानी गरेमा त्यसमा लागेको जरिवाना मिनाहा गरिनेछ। यो अवसरको सदुपयोग गर्न टेलिकमले आफ्ना सबै सम्बन्धित ग्राहकहरूलाई आग्रह गरेको छ। ग्राहकहरूले आफ्नो नजिकको दूरसञ्चार कार्यालयमा गई यो सुविधा लिन सक्नेछन्।
साथै, टेलिकमले तोकिएको समयभित्र बक्यौता भुक्तानी नगर्ने ग्राहकहरूलाई चेतावनी समेत दिएको छ। सूचनामा उल्लेख भए अनुसार, बाँकी रहेको महशुल नतिर्ने ग्राहकहरूको नाम र विवरण कम्पनीको वेबसाइट तथा पत्रिकाहरू मार्फत सार्वजनिक गरिनेछ। त्यसपश्चात पनि रकम भुक्तानी नभएमा कानुनी प्रक्रिया अपनाएर बक्यौता असुली गरिने व्यहोरा समेत टेलिकमले स्पष्ट पारेको छ।
बक्यौता धेरै भएका र जरिवानाका कारण समस्यामा परेका ग्राहकहरूका लागि यो एक महत्वपूर्ण अवसर हुने टेलिकमको विश्वास छ। थप जानकारीका लागि नेपाल टेलिकमको केन्द्रीय राजस्व विभागमा सम्पर्क गर्न सकिनेछ।