• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

नाट्टा निर्वाचन : युबिका भण्डारीको नेतृत्वमा सशक्त प्यानल घोषणा

काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी २०२६–२८ कार्यकालका लागि युबिका भण्डारीले आफ्नो नेतृत्वमा सशक्त प्यानल घोषणा गरेकी छिन्। ‘पर्यटन उठे, नेपाल उठ्छ’ भन्ने मुख्य नाराका साथ भण्डारीले अनुभवी र व्यावसायिक पर्यटन व्यवसायीहरू सम्मिलित टिम सार्वजनिक गरेकी हुन्।

घोषित प्यानलको वरिष्ठ उपाध्यक्षमा वरुण मेहता र उपाध्यक्षमा ढकनाथ काफ्ले रहेका छन्। त्यसैगरी, महासचिवमा कृष्ण प्रसाद ढकाल, सचिवमा श्रद्धा जोशी, कोषाध्यक्षमा रमा कुमारी प्याकुरेल र सह–कोषाध्यक्षमा विदुर खतिवडा चुनावी मैदानमा उत्रिएका छन्।

कार्यसमिति सदस्यहरूका लागि प्रदीप प्रसाद उदय, विवस पौडेल, श्रीराम थापा, स्मारिका थापा, संकेत दाहाल, डा. उमेश गुप्ता, होम बहादुर परियार र राजेन्द्र प्रसाद त्रिपाठीलाई टिममा समेटिएको छ।

आफ्नो उम्मेदवारीका बारेमा स्पष्ट पार्दै भण्डारीले यो केवल चुनावका लागि मात्र नभई संस्थालाई आधुनिकीकरण गर्न र सदस्यहरूको हित रक्षाका लागि बनेको एक सन्तुलित र प्रतिबद्ध टिम भएको बताएकी छिन्। टिमले “बुझ्नका लागि अनुभव, कार्यका लागि दृढता र नतिजाका लागि क्षमता” लाई आफ्नो मुख्य मन्त्र बनाएको छ।

पर्यटन क्षेत्रमा लामो समयदेखि क्रियाशील र व्यावहारिक ज्ञान भएका व्यक्तिहरू समावेश यस प्यानलले नाट्टालाई नयाँ उचाइमा पुर्‍याउने र पर्यटन उद्योगका समसामयिक चुनौतीहरूलाई समाधान गर्ने लक्ष्य राखेको छ।

सबै उम्मेदवारहरूले पर्यटन क्षेत्रमा देखिएका समस्याहरूको स्पष्ट बुझाइ र समाधानका लागि ठोस योजनासहित आफूहरू चुनावी प्रतिस्पर्धामा आएको बताएका छन्।