काठमाडौँ। सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्रा. डा. खड्गबहादुर केसी र सचिवमा प्रा. डा. रोजी श्रेष्ठलाई नियुक्त गरेको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
नवनियुक्त अध्यक्ष प्रा. डा. केसी त्रिभुवन विश्वविद्यालयका निवर्तमान शिक्षाध्यक्ष (रेक्टर) हुन् । त्रिभुवन विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. डा. केसरजंग बरालले राजीनामा दिएपछि उनले केही समय कार्यवाहक उपकुलपतिको जिम्मेवारी समेत सम्हालेका थिए । यद्यपि, सरकारले अध्यादेशमार्फत यसअघिका सरकारले गरेका नियुक्तिहरु खारेज गर्नुअघि केसीले राजीनामा दिएका थिए ।
पर्वतको मोदी गाउँपालिका-५, बाजुङमा जन्मेका डा. केसी अन्तर्राष्ट्रिय सम्बन्ध, भूराजनीति तथा नेपालको परराष्ट्र नीतिका विज्ञ मानिन्छन् । उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर तथा अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेका छन् ।
तीन दशकभन्दा बढी समय त्रिभुवन विश्वविद्यालयमा अध्यापन, अनुसन्धान र शैक्षिक नेतृत्वमा सक्रिय रहेका उनी शिक्षाध्यक्षमा नियुक्त हुनुअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागको प्रमुख थिए । उनका अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति र परराष्ट्र नीतिसम्बन्धी विभिन्न अनुसन्धानमूलक लेख तथा कृतिहरू प्रकाशित छन् ।
त्यसैगरी, आयोगको सचिवमा नियुक्त प्रा. डा. रोजी श्रेष्ठ नेपालमा नर्सिङ विषयमा विद्यावारिधि (पीएचडी) गर्ने पहिलो नेपाली हुन् । आयोगको सचिवमा नियुक्त हुनुअघि उनी बी एण्ड बी अस्पतालको नर्सिङ निर्देशकका रूपमा कार्यरत थिइन् । उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा विद्यावारिधि उपाधि हासिल गरेकी छिन ।
प्रा. डा. श्रेष्ठले बी एण्ड बी मेडिकल इन्स्टिच्युटमा क्याम्पस प्रमुख, पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङ प्राध्यापक, नर्भिक इन्टरनेशनल अस्पतालमा नर्सिङ निर्देशक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक तथा चितवन मेडिकल कलेजमा सहप्राध्यापक र प्रौढ स्वास्थ्य नर्सिङ विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेकी छिन ।
नर्सिङ अनुसन्धानमा विद्यावारिधि उपाधि हासिल गरेबापत उनी राष्ट्रपतिबाट ‘नेपाल विद्या भूषण’ पदकबाट सम्मानित भएकी छिन। यसका साथै, नेपालमा नर्सिङ विषयमा पहिलो विद्यावारिधि गर्ने शोधकर्ताका रूपमा उनले दीक्षान्त समारोहमा प्रधानमन्त्रीबाट विशेष सम्मानसमेत प्राप्त गरेकी थिइन ।
विश्वविद्यालय अनुदान आयोग ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ अन्तर्गत स्थापित एक स्वायत्त निकाय हो । आयोगको अध्यक्ष नियुक्त भएसँगै केसीको उच्च शिक्षाको गुणस्तरलाई प्रवर्द्धन, सहज, समर्थन र अभिवृद्धि गर्ने, शैक्षिक संस्थाहरूलाई देशलाई आवश्यक परेका शिक्षित र दक्ष जनशक्तिको माग पूरा गर्न सक्षम बनाउने जिम्मेवारी रहने छ ।
यसबाहेक, नेपाली शैक्षिक जगतलाई विश्वस्तर अनुरूप विकास गर्ने, उच्च शिक्षाको विकास र गुणस्तरलाई ऐतिहासिक रूपमा अवरुद्ध गर्दै आएका समस्या र चुनौतीहरूको समाधान गर्ने तथा वञ्चित र सीमान्तकृत समुदायका लागि उच्च शिक्षालाई समावेशी र पहुँचयोग्य बनाउँदै विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेजहरुको डिग्री र तीनको समकक्षतामा व्याप्त गञ्जागोल अन्त्य गर्ने जिम्मेवारी समेत केसीको काँधमा आएको छ ।
यस कार्यमा नवनियुक्त सचिव श्रेष्ठको दरिलो एवं प्रभावकारी साथ समेत आवश्यक पर्नेछ ।