काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले डरपोक भएर असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।
एमालेको जनवर्गीय संगठन नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्र जोगाएको दाबी गर्नु हास्यास्पद भएको बताए ।
उनले भने- ‘डरपोक राष्ट्रपतिले, सम्माननीय हुनुहुन्छ भन्न त भएन । सम्माननीय राष्ट्रपतिले डरपोक भएर प्रतिनिधिसभाको असंवैधानिक विघटन गर्नुभयो र बडो जुक्ति लगाएर लोकतन्त्र जोगाएँ भन्नुभयो । अनि असंवैधानिक ढंगले संसद् विघटन गरेर लोकतन्त्र जोगिन्छ ?’
उनले वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक र अलोकतान्त्रिक रहेको दाबी गर्दै आतंक, आगजनी र तोडफोडबाट सरकार गठन भएको आरोप लगाए ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परे पनि अदालतले समयमै फैसला नगरेको भन्दै ओलीले आफ्नो असन्तुष्टि दोहोराएका छन् ।