• २०८३ साउन २८
  • 2026 August 13, Thursday

अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार तथा विदेशी लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण र प्रभावकारी सुशासन आजको अपरिहार्यता भएको बताएका छन् ।

उनले सुशासनले लगानीकर्ताको विश्वास बढाउने, वित्तीय जोखिम घटाउने तथा संस्थागत क्षमता सुदृढ बनाउने उल्लेख गर्दै पारदर्शी वित्तीय प्रणाली र विश्वसनीय लेखापरीक्षण दिगो आर्थिक विकासका आधार स्तम्भ भएको बताए ।

नेपाल अडिटर्स एसोसिएसनको २१ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले दुई दशकभन्दा बढी समयदेखि संस्थाले व्यावसायिक दक्षता, नैतिकता तथा वित्तीय अनुशासनको प्रवद्र्धनमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको बताए । उनले सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग र वित्तीय उत्तरदायित्व सुनिश्चित गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

अग्रवालले विश्वास नै अर्थतन्त्रको सबैभन्दा ठूलो पुँजी भएको बताउँदै त्यसको आधार सत्यनिष्ठ लेखापरीक्षण, पारदर्शी वित्तीय प्रतिवेदन र उत्तरदायी व्यवस्थापन भएको धारणा राखे। निजी तथा सार्वजनिक दुवै क्षेत्रले बलियो अडिट प्रणालीलाई विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई), डेटा एनालिटिक्स, साइबर सुरक्षा तथा डिजिटल वित्तीय प्रणालीका कारण लेखापरीक्षणको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै अबको अडिट विगतको समीक्षा मात्र नभई भविष्यका जोखिम पहिचान गर्ने, संस्थागत क्षमता अभिवृद्धि गर्ने तथा दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने रणनीतिक माध्यम बनेको बताए ।

उनले अस्थिर नीति, लामो राजनीतिक अस्थिरता तथा कर्मचारीतन्त्रको व्यवहारका कारण नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयले निजी क्षेत्रमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई निरुत्साहित गर्ने कार्य नगर्न आग्रह गर्दै उनले नेपाल चेम्बर अफ कमर्स निजी क्षेत्र, महालेखा परीक्षकको कार्यालय तथा अडिट समुदायबीच घनिष्ठ सहकार्यको पक्षमा रहेको बताए ।

साथै, अध्यक्ष अग्रवालले सक्षम सार्वजनिक संस्था, सबल निजी क्षेत्र र विश्वसनीय अडिट प्रणालीको समन्वयबाट मात्र नेपालको आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै नेपाल अडिटर्स एसोसिएसनलाई २१ औँ वार्षिकोत्सवको शुभकामना व्यक्त गरे ।