विश्वकै सबैभन्दा शक्तिशाली सौर्य दूरबिनको प्रयोग गरी वैज्ञानिकहरूले पहिलोपटक सूर्यको सतहको अहिलेसम्मकै सबैभन्दा हाई–रिजोलुसन तस्बिर र भिडियो कैद गरेका छन्।
यी तस्बिरहरूमा सूर्यको सतहमा बन्ने यस्ता ‘भूमरी’ (व्हर्लपूल) देखिएका छन्, जसलाई पहिले कहिल्यै यति स्पष्ट रूपमा देख्न सकिएको थिएन।
यी भूमरीहरू सूर्यको चुम्बकीय क्षेत्र (म्याग्नेटिक फिल्ड) र त्यसभित्र रहेका अत्यन्त तातो ग्याँसहरूको निरन्तर हुने हलचलबाट बन्छन्।
वैज्ञानिकहरूका अनुसार, यिनै निरन्तर घुमिरहने गतिविधिहरू सूर्यबाट निस्कने शक्तिशाली ऊर्जा विस्फोटका ठूला कारण हुन्।
यिनैबाट पैदा हुने ‘स्पेस वेदर’ (अन्तरिक्ष मौसम) ले पृथ्वीको बिजुली ग्रिड, सञ्चार र नेभिगेसन उपग्रहहरूलाई प्रभावित गर्न सक्छ। यति मात्र होइन, अन्तरिक्षमा रहेका अन्तरिक्ष यात्रीहरूका लागि पनि यो खतरा बन्न सक्छ।
अमेरिकी राष्ट्रिय सौर्य वेधशाला (एनएसओ) सँग सम्बन्धित डाक्टर डेभिड बोबोल्ट्ज भन्छन्, ‘सूर्य नै त्यो ऊर्जा र त्यो समस्त अन्तरिक्ष मौसमको स्रोत हो।’

उनले भने– सूर्यका पहिलेको भन्दा धेरै हाई–रिजोलुसन तस्बिरहरूले वैज्ञानिकहरूलाई अन्तरिक्ष मौसमलाई अझ राम्रोसँग बुझ्न र भविष्यमा त्यसको सटीक भविष्यवाणी गर्न मद्दत गर्नेछन्।
उनका अनुसार, स्पेस वेदरलाई बुझ्न र भविष्यमा त्यसको पूर्वानुमान गर्नका लागि हामीले सूर्यको भौतिक प्रक्रियाहरूलाई सबैभन्दा सानो स्तरसम्म बुझ्नुपर्नेछ।
यी निष्कर्षहरू प्रतिष्ठित वैज्ञानिक पत्रिका ‘नेचर’मा प्रकाशित भएका छन्। यो उपलब्धि इनोए सोलर टेलिस्कोपको मद्दतले सम्भव भएको हो।
यो दूरबिन हवाईको एउटा अग्लो पहाडको चुचुरोमा स्थापित छ, जहाँ सफा नीलो आकाश र धुलो रहित वातावरणले अत्यन्त स्पष्ट तस्बिरहरू लिन मद्दत गर्दछ। सूर्यको सतहमा जुम गर्दा वैज्ञानिकहरूले घुमिरहेका भुमरीहरूको अत्यन्त हाई–रिजोलुसन तस्बिर कैद गरे।
नेशनल सोलर अब्जर्भेटरी (एनएसओ) का खगोल वैज्ञानिक डा. डेभिड कुरिद्जेले बीबीसीलाई बताए अनुसार यी घुमिरहने चालहरूले चुम्बकीय ऊर्जा पैदा गर्छन्। यही ऊर्जा जम्मा भएर पछि गएर ठूलो मात्रामा हुने सौर्य विस्फोटको कारण बन्न सक्छ।
वैज्ञानिकहरूले सूर्यमा जुन नयाँ घटनाको पत्ता लगाएका छन्, त्यसलाई ‘केल्भिन–हेल्महोल्ट्ज अस्थिरता’ भनिन्छ।
यो घटना तब हुन्छ, जब दुई तरल वा ग्याँसीय तहहरू (सूर्यको अत्यन्त तातो ग्याँसहरू) एक–अर्काको समानान्तर फरक–फरक गतिमा बग्छन्।
यसबाट पैदा भएका साना–साना हलचलहरू बिस्तारै घुम्ने भूमरीको रूप लिन्छन्।
समुद्रमा पनि यही प्रक्रियाले साना लहरहरूलाई समयसँगै विशाल र शक्तिशाली लहरहरूमा बदल्ने कारण बन्छ।

नेशनल सोलर अब्जर्भेटरी (एनएसओ) का वैज्ञानिक डा. फ्रेडरिक भोएगरका अनुसार सूर्यको सतहमा यो घटनाको पुष्टि हुनाले स्पेस वेदरपछाडिको प्रक्रियाहरूलाई बुझ्न मात्र मद्दत पुग्ने छैन, बरु सूर्यको सतह किन यति धेरै तातो हुन्छ भन्ने कुरा पनि बुझ्न सकिनेछ।
बोबोल्ट्जका अनुसार, अन्तरिक्ष मौसमलाई बुझ्ने र त्यसबाट आफूलाई बचाउने व्यावहारिक आवश्यकताका साथसाथै, नयाँ निष्कर्षले सूर्य एउटा ‘अद्वितीय प्रयोगशाला’ हो भन्ने कुराको सम्झना गराउँछ।
उनले भने, ‘यो हाम्रो सबैभन्दा नजिकको तारा हो। र यसले हामीलाई भौतिकशास्त्रका केही धेरै आधारभूत नियमहरू बुझ्न मद्दत गर्न सक्छ।’
आइन्सटाइनको सामान्य सापेक्षता सिद्धान्तको पहिलो प्रायोगिक प्रमाण सूर्यग्रहणको समयमा गरिएको अब्जर्भेसनबाट प्राप्त भएको थियो। उनले भने, ‘त्यसैले मानव ज्ञानलाई अगाडि बढाउनका लागि यस प्रकारका प्रयोगहरू अत्यन्त जरुरी छन्।’
–बीबीसीबाट ।