काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले २०८२ भाद्र २४ गतेको जेनजी आन्दोलनमा आगजनीबाट नष्ट भएको विराटनगरस्थित कोइराला निवास पुनर्निर्माण तथा मर्मत संहारका लागि सरकारले दिएको रकम लिन आफू नैतिक रुपमा असमर्थ रहेको बताएका छन् ।
डा. कोइरालाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बजेट फिर्ता सम्बन्धि पत्र समेत पठाउनुभएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
मन्त्रालयले विराटनगरस्थित कोइराला निवास मर्मत संहारका लागि आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत दुई करोड रकम बिनियोजन गरेको थियो ।
डा. कोइरालाले पत्रमा लेखेका छन्, ‘राज्य सामु आम नागरिक जो वञ्चना, अभाव र अनेकन् कष्टमा छन्, त्यस्ता नागरिकको उत्थानका लागि उपलब्ध सीमित स्रोत र साधनको उपयोग होस् भन्दै विनम्रतापूर्वक उक्त रकम नैतिक रूपमा स्वीकार गर्न असमर्थ छु।’
उनले बीपी कोइरालाले जीवनभर नेपालीको गाँस, वास र कपासका लागि संघर्ष गरेको स्मरण गर्दै राज्यले विपन्न नागरिकको पक्षमा काम गर्नु नै बिपी र कोइराला निवासप्रति सच्चा श्रद्धाञ्जली र न्याय हुने उल्लेख गरेका छन्।
विराटनगर महानगरपालिका वडा नं. ७ मा रहेको यो ऐतिहासिक घर कृष्णप्रसाद कोइरालाले एक शताब्दीअघि निर्माण गरेका थिए । नेपाली राजनीतिको ऐतिहासिक साक्षी र धरोहर मानिने यो घर गत वर्ष भदौ २४ गते ‘जेन्जी आन्दोलन’ का क्रममा जलाइएको थियो, जसका कारण यसको भौतिक स्वरूप नष्ट भएको छ।