• २०८३ कार्तिक २२
  • 2026 November 07, Saturday

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाडौं । माछापुच्छ्र्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा ‘बिल जितौँ (IRD) सुविधा सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार आन्तरिक राजस्व विभागले बिल लिने संस्कृतिको विकास, डिजिटल भुक्तानीलाई प्रोत्साहन तथा कर प्रणालीलाई थप पारदर्शी बनाउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरेको हो ।

यस कार्यक्रम अन्तर्गत योग्य उपभोक्ताहरूले नियमित लक्की ड्र मार्फत नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन् । नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु १०० भन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बैंकको मोबाइल बैंकिङ एप मार्फत बैंक वा वालेटको Merchant QR मा डिजिटल भुक्तानी गर्ने ग्राहकका योग्य कारोबारहरू स्वत: आन्तरिक राजस्व विभाग (IRD) को प्रणालीमा समावेश हुने भएकोले यसका लागि छुट्टै दर्ता गर्नुपर्ने आवश्यकता पर्दैन ।

माछापुच्छ्रे बैंकका ग्राहकहरूले एमबीएल एम–स्मार्ट (MBL M-SMART) एपमा लग्–इन गरी Bill Jitau (IRD) मेनुमा प्रवेश गरेपछि IRD उपहार कार्यक्रमका लागि योग्य भएका कुल कारोबार संख्या, योग्य कारोबारहरूको विस्तृत विवरण तथा उपहार विजेता भएको अवस्थामा सम्बन्धित जानकारी एकै स्थानबाट सहज रूपमा हेर्न सक्नेछन् ।

आन्तरिक राजस्व विभागले कार्यक्रम अन्तर्गत योग्य कारोबारहरूबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गर्दै प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ । यस अवसरमा माछापुच्छ्र्रे बैंकले आफ्ना सम्पूर्ण ग्राहकहरूलाई रु. १०० भन्दा बढीको प्रत्येक खरिदमा Merchant QR मार्फत डिजिटल भुक्तानी गर्न, अनिवार्य रूपमा PAN/VAT बिल लिन, बिल सुरक्षित राख्न तथा एमबीएल एम–स्मार्टको बिल जिताैँ ‘BILL JITAU (IRD) मेनु मार्फत आफ्नो योग्य कारोबार नियमित रूपमा जाँच गर्न अपिल पनि गरेको छ ।