• २०८३ साउन २७
  • 2026 August 12, Wednesday

पासपोर्ट छपाइमा छलाङ, एकै दिन ५ हजार ८७८ ई-पासपोर्ट छापियो

काठमाडौँ। राहदानी विभागले विद्युतीय पासपोर्ट (ई-पासपोर्ट) छपाइ क्षमतामा उल्लेख्य वृद्धि गरेको छ। विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा विद्युतीय पासपोर्ट छाप्न सफल भएको जनाएको हो।

विभागले पछिल्लो समय दैनिक रुपमा ५ हजारभन्दा बढी पासपोर्ट छाप्न थालेको हो। यसअघि विभागको छपाइ क्षमता दैनिक करिब १ हजार ५०० पासपोर्ट रहेको थियो ।
विभागले विद्युतीय पासपोर्टको बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै लगेको हो ।

विभागले नेपाली नागरिकलाई सहज, सरल, छिटो, सुरक्षित तथा प्रभावकारी रूपमा विद्युतीय पासपोर्ट उपलब्ध गराउने उद्देश्यले सेवा प्रणाली र पासपोर्ट छपाइ क्षमतामा निरन्तर सुधार गर्दै आएको छ । विभागका अनुसार बढ्दो मागलाई ध्यानमा राख्दै उत्पादन क्षमता विस्तार गरिएको र सेवाग्राहीलाई समयमै पासपोर्ट उपलब्ध गराउन क्षमता थप वृद्धि गर्ने कार्य भइरहेको छ।

विद्युतीय पासपोर्ट सेवा काठमाडौँमा मात्र सीमित नरहेको तथा देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट समेत उपलब्ध हुँदै आएको छ। विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि विद्युतीय पासपोर्ट सेवा लिन सक्ने व्यवस्था रहेको विभागले जनाएको छ।

बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न विभागले पासपोर्ट छपाइ तथा सेवा प्रवाहको क्षमता विस्तार गर्नुका साथै सम्बन्धित जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगसँग समन्वय गर्दै आएको जनाएको छ।

यस्तै, विभागले विद्युतीय पासपोर्ट प्रणाली सञ्चालनका क्रममा देखिन सक्ने प्राविधिक समस्यालाई प्राथमिकताका साथ समाधान गर्दै आएको जनाएको छ। सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या तीन महिनाभित्र प्रणालीलाई स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय कार्य अघि बढाइएको विभागको भनाइ छ।

सेवाग्राहीले पासपोर्ट प्राप्त गर्न अनावश्यक कठिनाइ व्यहोर्नु नपरोस् भन्ने उद्देश्यले प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ।

प्राविधिक समस्या समाधान गर्दै विद्युतीय पासपोर्ट सेवा थप सहज, भरपर्दो, सुरक्षित तथा प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान केन्द्रित गरेको जनाएको छ।