• २०८३ साउन २९
  • 2026 August 14, Friday

बक्यौता असुलीमा कडाइ गरिएपछि उद्योगबाट उठ्यो ५१ करोड

काठमाडौँ। उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि बक्यौता धमाधम उठ्न थालेको छ। उद्योग मन्त्री गौरी कुमारी यादवको सचिवालयका अनुसार हालसम्म उद्योगहरूको बक्यौताबापत कुल ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा असुली भइसकेको हो।

मन्त्री यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएसँगै असुली प्रक्रिया तीव्र पारिएको उनको सचिवालयको भनाइ छ। करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगहरूको भाडा बक्यौता समेत अहिले असुल हुन थालेको छ।

बक्यौता असुलीसँगै लामो समयदेखि रोकिएको उद्योग सञ्चालनलाई सहज बनाउने कामसमेत अघि बढाइएको छ। बक्यौता तिर्ने थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ भने विद्युत् बक्यौता नतिरेका कारण हालसम्म १६ वटा उद्योगको विद्युत् लाइन काटिएको छ।