अर्थतन्त्र र पूर्वाधारमाथि ठूलो दबाब परिरहे पनि इरानका नीतिनिर्माता युद्ध अन्त्य गर्न हतारिएको देखिँदैनन्। इरानले सायद यो देखाउन खोजिरहेको छ कि युद्धको दिशा अमेरिकाले मात्रै तय गर्न सक्दैन।
साथै, अमेरिकामाथि सैन्य, आर्थिक र राजनीतिक दबाब बढाएर आफ्ना केही माग स्वीकार गर्न बाध्य पार्न सकिने आशा पनि इरानले गरेको हुन सक्छ।
तर धेरै कुरा एउटा महत्त्वपूर्ण प्रश्नको उत्तरमा निर्भर हुनेछ- इरानले वास्तवमा यो युद्धलाई कहिलेसम्म जारी राख्न सक्छ?
इरानले युद्ध कतिसम्म लम्बाउन सक्छ?
यस युद्धमा इरानको रक्षा उद्योग र क्षेप्यास्त्र उत्पादन गर्ने केही संरचनालाई निशाना बनाइएको छ। तर क्षतिको सही आकलन गर्न सकिने कुनै स्वतन्त्र तथ्यांक उपलब्ध छैन।
च्याटम हाउस थिंक ट्यांकले आफ्नो पछिल्लो आकलनमा इरानसँग अहिले कति क्षेप्यास्त्रको भण्डार छ भन्ने भरपर्दो तथ्यांक नरहेको बताएको छ।
समय बित्दै जाँदा इरानले प्रहार गर्ने क्षेप्यास्त्रको संख्या घट्दै गएको छ। तर युद्ध जारी राख्ने उसको क्षमताको आकलन केवल क्षेप्यास्त्रको संख्याका आधारमा गर्न सकिँदैन।
वास्तवमा, ड्रोन र क्रुज क्षेप्यास्त्र उत्पादन गर्न अहिले तुलनात्मक रूपमा सजिलो र छिटो छ। यसबीच मारिएका कमान्डरहरूको ठाउँमा नयाँ कमान्डर नियुक्त भइसकेका छन् र कमान्ड संरचना पनि अझै कायम छ।
जर्ज वासिङ्टन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका लेक्चरर मोहम्मद गाएदीले भने, “इरानले सम्भवतः लामो समयसम्म क्षेप्यास्त्र प्रहार गर्ने आफ्नो क्षमता कायम राख्न सक्छ। यद्यपि, यसको तीव्रता कम हुन सक्छ र होर्मुज जलमार्गमा अवरोध सिर्जना गर्न सक्छ।”
इरानी नीतिनिर्माताहरूको बुझाइमा लामो समयसम्म चल्ने द्वन्द्वले अमेरिकालाई पनि क्षति पुर्याउन सक्छ।
इरानी क्षेप्यास्त्र र ड्रोन रोक्न अमेरिकाको रक्षा भण्डारको केही हिस्सा खर्च भइसकेको छ। केही अमेरिकी आकलनले यी हतियारको भण्डार तत्काल पूर्ति गर्न नसकिने चेतावनी समेत दिएका छन्।
गाएदी भन्छन्, “तेलको मूल्यमा युद्धको प्रभाव र अमेरिकाको घरेलु राजनीतिक परिस्थितिले वासिङ्टनलाई आफ्ना केही सर्त स्वीकार गर्न बाध्य पार्न सकिन्छ भन्ने आशामा तेहरान छ।”
अमेरिकाभित्र रिपब्लिकन मतदातामाझ राष्ट्रपति ट्रम्पको समर्थन मजबुत नै छ। तर सर्वेक्षणहरूले यो द्वन्द्वप्रति अमेरिकी जनतामा असन्तुष्टि बढ्दै गइरहेको र ट्रम्पले युद्धका आफ्ना उद्देश्य हासिल गर्न नसकेको चिन्ता देखाएका छन्।
यदि तेहरानको अनुमान सही हो भने इरानका लागि अमेरिकालाई सैन्य रूपमा हराउनु आवश्यक नहुन सक्छ। बरु, लामो र महँगो युद्ध पनि दबाब सिर्जना गर्ने एउटा माध्यम हुन सक्छ।
हालसम्म केवल सैन्य दबाबकै कारण इरान युद्ध रोक्न बाध्य हुने कुनै संकेत देखिएको छैन।
इरानको अर्थतन्त्रले कहिलेसम्म धान्न सक्छ?
युद्ध सुरु हुनुअघि नै इरानको अर्थतन्त्र महँगी, लगानीको अभाव, आफ्नो मुद्रा रियालको भारी अवमूल्यन र व्यापक संरचनात्मक असन्तुलनसँग जुधिरहेको थियो।
विश्व बैंकको अनुमान अनुसार आर्थिक वर्ष २०२५/२६ मा इरानको अर्थतन्त्र करिब २.७ प्रतिशतले खुम्चिएको थियो।
युद्धले त्यसमा थप दबाब सिर्जना गरेको छ। इरानको तथ्यांक केन्द्रका अनुसार पछिल्लो १२ महिनाको महँगी दर ६२ प्रतिशतसम्म पुगेको छ।
युद्धबाट सबैभन्दा बढी प्रभावित दक्षिणी प्रान्तहरूमा यो दबाब अझ गम्भीर छ। उदाहरणका लागि, होर्मोजगानमा महँगी दर १०१ प्रतिशतभन्दा माथि पुगेको छ।
इरानका उपश्रममन्त्रीका अनुसार युद्धका कारण रोजगारी बजारमा १० लाखभन्दा बढी रोजगारी गुमेका छन् र करिब २० लाख मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बेरोजगार भएका छन्।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा इरानको अर्थतन्त्र करिब ५.४ प्रतिशतले खुम्चिने र महँगी दर ६९ प्रतिशतको हाराहारीमा पुग्ने अनुमान गरेको छ।
युद्धको अवधि र त्यसका कारण व्यापार तथा तेल निर्यातमा कति ठूलो अवरोध सिर्जना हुन्छ भन्ने कुराले ठूलो असर पार्नेछ।
एकातिर, होर्मुज जलमार्ग दबाब सिर्जना गर्ने माध्यम हो भने; अर्कोतिर, इरानकै लागि असुरक्षाको कारण पनि हो।
यस मार्गमा अवरोध सिर्जना हुँदा अमेरिका र विश्वव्यापी ऊर्जा बजारका लागि युद्धको लागत बढ्न सक्छ। तर अर्कोतर्फ अमेरिकी नौसैनिक नाकाबन्दी र ढुवानीमाथिका प्रतिबन्धले इरानका लागि तेल निर्यात गर्न झन् कठिन बनाउँछ।
यद्यपि, आर्थिक दबाबले मात्रै परिवर्तन ल्याउँछ भन्ने निश्चित छैन।
गाएदीका अनुसार निरंकुश सरकारहरू अत्यन्त कठिन आर्थिक परिस्थितिमा पनि वर्षौंसम्म टिक्न सक्छन्।
उनको भनाइमा अनुसार महँगी, बेरोजगारी र संरचनात्मक असन्तुलनले असन्तुष्टि बढाउन सक्छन्, तर व्यापक विरोध प्रदर्शन वा सरकारभित्रै विभाजन नआएसम्म तेहरानको सैन्य नीतिमा परिवर्तन नआउन सक्छ।
युद्धलाई लिएर इरानभित्र के बहस छ?
युद्ध अन्त्य गर्ने सबैभन्दा राम्रो बाटो के हुन सक्छ भन्ने विषयमा इरानभित्र मतभेद छ।
संसदका सभामुख तथा इरानको वार्ता प्रतिनिधिमण्डलका प्रमुख मोहम्मद बाघेर गालिबाफले यसअघि नै इरान लगातार चल्ने द्वन्द्वहरूमा फस्न नहुने चेतावनी दिएका थिए। उनले वार्ताको विरोध गर्नेहरूको पनि आलोचना गरेका छन्।
तर संसदमा इरानका कट्टरपन्थी सांसद अमिरहोसेन साबेतीले अमेरिकाले इरानका सबै सर्त मानेर सम्झौतामा हस्ताक्षर गरे पनि युद्ध जारी रहने बताएका छन्।
यो असहमतिलाई केवल युद्ध समर्थक र शान्ति समर्थक गुटमा विभाजन गर्न भने सकिँदैन।
गालिबाफले इरानका अधिकारको रक्षा नगर्ने कुनै पनि सम्झौता आफूहरूले स्वीकार नगर्ने बताएका छन्।
मुख्य मतभेद, निरन्तर दबाबबाट तेहरानले कति बढी लाभ लिन सक्छ र कुन बिन्दुमा पुगेर क्षति लाभभन्दा बढी हुन थाल्छ भन्ने विषयमा देखिन्छ।
इरानी जनताको धारणा के छ?
युद्ध जारी राख्ने विषयमा इरानी जनताको धारणा बुझ्न सकिने स्वतन्त्र र विश्वसनीय जनमत सर्वेक्षण उपलब्ध छैन। सामाजिक सञ्जालले पनि सम्पूर्ण समाजको प्रतिनिधित्व गर्दैन।
तर बीबीसीसँगको अन्तर्वार्तामा इरानका विज्ञ तथा जर्मन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्स (एसडब्ल्यूपी) का भिजिटिङ फेलो हामिदरेजा अजीजीले इस्लामिक गणतन्त्रका लागि अन्ततः घरेलु मोर्चा नै सबैभन्दा खतरनाक मोर्चा बन्न सक्ने बताएका छन्।
उनका अनुसार यसको कारण अत्याधिक महँगी, आर्थिक समस्या र देशको पूर्वाधारमाथि बढिरहेको दबाब हो।
युद्धबाट बाहिरिनुपर्ने आवश्यकता
लामो समयसम्म चल्ने युद्धले इरानलाई क्षेत्रीय स्तरमा पनि ठूलो क्षति पुर्याउन सक्छ।
पछिल्ला वर्षहरूमा तेहरानले खाडीका अरब देशहरू, विशेषगरी साउदी अरबसँग सम्बन्ध सुधार्ने प्रयास गर्दै आएको छ। यी देशमा रहेका सैन्य अड्डा, पूर्वाधार र समुद्री मार्गमाथि लगातार हुने आक्रमणले ती सम्बन्धलाई फेरि बिगार्न सक्छ।
यी देशहरूले अहिलेसम्म तनाव कम गर्ने र वार्तामा फर्कने प्रयास गरिरहेका छन्।
तर इरान वा इरानसँग सम्बन्धित सैन्य समूहबाट हुने आक्रमणको खतरा उनीहरूले जति बढी महसुस गर्नेछन्, अमेरिकासँग रक्षा सहकार्य बलियो बनाउने र सम्भवतः इरानविरुद्ध समेत सहकार्य बढाउने उनीहरूको इच्छा त्यति नै बढ्नेछ।
दीर्घकालीन युद्धका कारण अमेरिकामाथि पर्ने दबाब इरानका लागि राजनीतिक रूपमा महत्त्वपूर्ण त्यतिबेला मात्रै हुनेछ, जब उसले उक्त दबाबलाई वार्ताको टेबलमा आफ्नो पक्षमा ढाल्न सक्छ।
तर इरानलाई युद्धको स्वीकार्य अन्त्य प्रदान गर्न सक्ने सम्झौता कस्तो हुनेछ वा त्यस्तो सम्झौता कसरी सम्भव हुनेछ भन्ने कुरा अझै स्पष्ट छैन।
अजीजी भन्छन्, “इरानको रणनीतिमा रहेको कमी भनेको युद्धका क्रममा हासिल गरेको प्रभावलाई कसरी स्थायी राजनीतिक लाभमा बदल्ने भन्ने हो। तेहरानले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध सिर्जना गर्न र अमेरिका तथा उसका सहयोगीमाथि दबाब दिन सक्ने देखाइसकेको छ। तर लामो समयसम्म अमेरिका र खाडी देशहरूसँगको टकरावको अवस्थामा ऊ कसरी टिकिरहन सक्छ भन्ने कुरा स्पष्ट छैन।”
अहिलेसम्म सैन्य, आर्थिक वा राजनीतिकमध्ये कुनै पनि बाधाले इरानलाई युद्ध जारी राख्नबाट रोक्न सकेको छैन।
तर युद्ध जति लामो हुँदै जान्छ, घरेलु आर्थिक दबाब त्यति नै बढ्दै जानेछ। इरानका क्षेत्रीय सम्बन्ध त्यति नै बिग्रँदै जानेछन्। र, यी क्षतिको क्षतिपूर्ति गर्न सक्ने स्वीकार्य सम्झौतामा पुग्न पनि त्यति नै कठिन हुँदै जानेछ।
(बीबीसीबाट)