काठमाडौँ। नेपाल राष्ट्र बैकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका सञ्चालकहरू र प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको घटनामा प्रतिक्रिया दिएको छ । केन्द्रीय बैंकले बिहिबार एक विज्ञप्ति जारी गर्दै बैंकको सञ्चालन र व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन गरिरहेको तथा विद्यमान कानुनी व्यवस्थाका सन्दर्भमा आवश्यक राय सुझाव लिई छलफल भइरहेको जनाएको हो ।
राष्ट्र बैंकले हाल उक्त नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरू तोकिएको मापदण्डबमोजिम सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको बताएको छ ।
“हाल जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेको अवस्था विद्यमान रहेकोले बैंक सञ्चालनको दैनिक अवस्थासहित मुद्दाको प्रकृति, समयावधि र गाम्भीर्यका आधारमा थप छलफल र कानुनी राय समेत लिई कानुनबमोजिम सञ्चालक समिति र उच्च व्यवस्थापन एवम् बैंक सञ्चालनका सम्बन्धमा आवश्यक उपाय अवलम्बन गरिने व्यहोरा जानकारी गराइन्छ,” राष्ट्र बैंकद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।
स्मार्ट टेलिकमको धितो सम्पत्ति लिलामी प्रकरणमा बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे र सञ्चालकहरूविरुद्ध मुद्दा दायर भएपछि राष्ट्र बैंकको पछिल्लो धारणा सार्वजनिक भएको हो ।
