काठमाडौँ । आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
श्रेष्ठलाई साउन २७ गते राति पक्राउ गरी निवासमा खानतलासी गरिएको तथा भोलिपल्ट सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाबारे काउन्सिलले चासो जनाएको हो ।
काउन्सिलले कुनै सञ्चारमाध्यम वा पत्रकारले व्यावसायिक आचारसंहिता उल्लङ्घन गरेमा त्यससम्बन्धी उजुरी काउन्सिलमा दिन सकिने स्पष्ट पारेको छ । समाचारमा चित्त नबुझे खण्डन, भुलसुधार, क्षमायाचनालगायत प्रक्रियाबाट समाधान खोज्ने तथा आवश्यक कारबाही गर्ने अधिकार काउन्सिलसँग रहेको जनाएको छ ।
प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकको सम्मान गर्नुपर्नेमा जोड दिँदै काउन्सिलले पत्रकारले पनि सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिता गर्नुपर्ने जनाएको छ। प्रेस स्वतन्त्रताको नाममा स्वेच्छाचारिता हुन नदिन पत्रकार तथा सञ्चारमाध्यम पनि आफ्नो व्यावसायिक मर्यादाप्रति जिम्मेवार हुनुपर्ने काउन्सिलको भनाइ छ ।
काउन्सिलले भनेको छ- ‘नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाटै हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सम्बद्ध सबैको कर्तव्य हो । प्रेस स्वतन्त्रताको सदुपयोग र सम्मान हुनुपर्दछ । काउन्सिल सञ्चारकर्मको क्रममा पत्रकार/सञ्चारकर्मीद्वारा प्रस्तुत कार्यशैली, व्यवहार तथा पेसागत मर्यादा एवं आचरणप्रति पनि उत्तिकै चिन्तित छ । प्रेस स्वतन्त्रताको प्रयोग गर्ने नाममा हुनसक्ने स्वच्छन्दतातर्फ सबै पत्रकार/सञ्चारकर्मी सचेत हुनैपर्दछ । सत्य, तथ्य र सन्तुलित एवं विश्वसनीय पत्रकारिताको माध्यमबाट यसको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउँदै प्रेस स्वतन्त्रताको दुरूपयोग हुन नदिनेतर्फ सजगता अपनाउनै पर्दछ ।’
काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको भन्दै कुनै समाचारप्रति चित्त नबुझे कानुनी तथा स्थापित प्रक्रियामार्फत प्रेस काउन्सिलमा उजुरी दिन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।