काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्ससामु १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको हो।
सुदूरपश्चिमका लागि ओपनर सैफ अली जैबले सर्वाधिक ३५ रन बनाए। उनले २४ बलमा चार चौका र एक छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारीले २२ बलमा दुई चौका र दुई छक्काको मद्दतमा २७ रन जोडे।
जैब र भण्डारीले पहिलो विकेटका लागि ६८ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई उत्कृष्ट सुरुआत दिलाएका थिए। यी दुईको आक्रामक ब्याटिङका कारण टोलीले पावर प्लेमा मात्रै ६३ रन जोडेको थियो। तर आठौँ ओभरमा भण्डारी र नवौँ ओभरमा जैब आउट भएपछि सुदूरपश्चिमको रनगति केही प्रभावित भयो।
त्यसपछि ब्रान्डन म्याकमुलेनले १६ बलमा दुई चौका र एक छक्कासहित २४ रन तथा इशान पाण्डेले १३ बलमा तीन छक्का प्रहार गर्दै २३ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी १० र आरिफ शेख ११ रनमा आउट भए।
तल्लो क्रमका ब्याटरले भने अन्तिम ओभरतिर रन गति बढाए। थरिन्द्र रत्नायकेले १२ बलमा तीन चौका र एक छक्कासहित अविजित २२ रन बनाए। स्कट कुगेलेइनले पनि ६ बलमा दुई चौका प्रहार गर्दै १३ रनमा अविजित रहे। सुदूरपश्चिमले अन्तिम पाँच ओभरमा ५७ रन जोड्दै प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
कर्णाली याक्सका लागि मार्क वाटले सर्वाधिक दुई विकेट लिए। नन्दन यादव, हुसेन तलत र सूर्य तामाङले एक–एक विकेट हात पारे।