एजेन्सी। लेबनानले मृत्युदण्ड अन्त्य गर्ने मध्यपूर्वको पहिलो देश बनेको छ। मंगलबार लेबनानको १२८ सदस्यीय संसद्मा बहुमत सांसदले मृत्युदण्ड खारेज गर्ने पक्षमा मतदान गरेका हुन्।
लेबनानमा अब मृत्युदण्डको सजाय पाएकाहरूलाई कठोर श्रमसहित आजीवन कारावासको सजाय दिइनेछ। लेबनानको न्याय मन्त्रालयअन्तर्गतको कारागार निर्देशनालयका अनुसार सन् २०२५ को अन्त्यसम्म देशमा ८५ जना मृत्युदण्डको सजाय भोगिरहेका थिए।
अझै कुन देशमा मृत्युदण्ड कायम छ?
एम्नेस्टी इन्टरनेसनलको मृत्युदण्ड र कार्यान्वयनसम्बन्धी पछिल्लो प्रतिवेदनअनुसार विश्वका करिब तीन-चौथाइ देशले कानुनी रूपमा वा व्यवहारमा मृत्युदण्ड अन्त्य गरिसकेका छन्। व्यवहारमा मृत्युदण्ड अन्त्य गरेका देशले पछिल्ला १० वर्षमा कुनै पनि मृत्युदण्ड कार्यान्वयन गरेका छैनन्।
केही देशले भने ‘सामान्य अपराध’ का लागि मात्र मृत्युदण्ड हटाएका छन्। यसअन्तर्गत सैन्य कानुनअनुसार हुने अपराध वा विशेष परिस्थितिमा गरिएका गम्भीर अपराधमा मृत्युदण्डको व्यवस्था अझै कायम हुन सक्छ।
एम्नेस्टीका अनुसार ११३ देशले सबै अपराधका लागि मृत्युदण्ड खारेज गरेका छन् । ९ देशले सामान्य अपराधमा मृत्युदण्डको व्यवस्था हटाउँदा २३ देशले व्यवहारत मृत्युदण्ड अन्त्य गरेका छन्। यद्यपि, विश्वका ५४ देशमा भने अझै पनि मृत्युदण्ड कायम छ।
एम्नेस्टीका अनुसार सन् २०२५ मा विश्वभर कम्तीमा २,७०७ वटा मृत्युदण्ड कार्यान्वयन भएका थिए। यो संख्या सन् २०२४ को १,५१८ भन्दा ७८ प्रतिशतले बढी हो।
मृत्युदण्ड कार्यान्वयनमा आएको यो वृद्धिको मुख्य कारण इरानमा भएको वृद्धि रहेको एम्नेस्टीले जनाएको छ। इरानमा सन् २०२४ मा कम्तीमा ९७२ वटा मृत्युदण्ड कार्यान्वयन भएकोमा सन् २०२५ मा यो संख्या दोब्बरभन्दा बढी बढेर कम्तीमा २,१५९ पुगेको थियो।
यद्यपि, चीनमा भएको मृत्युदण्डको वास्तविक संख्या एम्नेस्टीको तथ्यांकमा समावेश छैन। एम्नेस्टीका अनुसार चीनमा हजारौँ मानिसलाई मृत्युदण्ड दिइएको हुन सक्ने भए पनि त्यसको यकिन तथ्यांक सार्वजनिक गरिएको छैन।
सन् २०२५ मा विश्वका १७ देशमा मृत्युदण्ड कार्यान्वयन भएको थियो। सन् २०१८ यता मृत्युदण्ड कार्यान्वयन गर्ने देशको संख्या ऐतिहासिक रूपमा न्यून स्तरमै रहेको एम्नेस्टीले जनाएको छ।