• २०८३ साउन २९
  • 2026 August 14, Friday

सही निर्णय कसरी लिने? कमिला, मौरी, फट्याङ्ग्रा, साङ्ला र झिँगाबाट सिक्नुहोस्

हामी मानिस आफ्नो सोच्ने र तर्क गर्ने क्षमताका कारण आफूलाई विकासक्रमको सिँढीमा सबैभन्दा माथि रहेको ठान्छौँ। यद्यपि, कैयौँ पटक वा लामो समयसम्म विचार-विमर्श गरेपछि पनि मानिसले गलत निर्णय लिन पुग्छ।

यसको ठीक विपरीत, अत्यन्तै सानो, एउटा बीउजत्रो आकारको मस्तिष्क भएका कीराहरूले निर्णय लिने मामिलामा हामीलाई अचम्मित पार्न सक्छन्।

कीराहरूको समस्या समाधान गर्ने क्षमताबाट प्रेरित भएर मानिसहरूले वास्तविक जीवनमा अझ राम्रो र छिटो निर्णय लिनका लागि विभिन्न विधि (एल्गोरिदम) सिकेका छन्।

कीराहरूले निर्णय लिने तरिकाबाट पाँचवटा महत्त्वपूर्ण कुरा सिक्न सकिन्छ। यसले मानिसलाई अझ राम्रो र बुद्धिमत्तापूर्ण निर्णय लिन मद्दत गर्न सक्छ।

कमिलाहरूले सबै बाटोको खोजी गर्छन्

कुनै काम पूरा गर्न सबैभन्दा राम्रो तरिका छनोट गर्नु सजिलो हुँदैन। विशेषगरी, जब कुनै व्यक्तिको अगाडि एकैपटक धेरै विकल्पहरू हुन्छन्। यस्तो अवस्थालाई ‘च्वाइस ओभरलोड’ भनिन्छ।

कमिलाहरूले विशेषगरी खाना खोज्नका लागि ठाउँ छनोट गर्ने निर्णय सामूहिक रूपमा गर्नुपर्दा पनि यस्तै समस्याको सामना गर्छन् ।

तर धेरै प्रजातिका कमिलाहरूले यस समस्यासँग जुध्न एउटा सरल तरिका विकास गरेका छन्।

सुरुमा कमिलाहरू आफ्नो गुँडबाट बाहिर निस्कन्छन् र नजिकै त्यस्तो ठाउँ खोज्छन्, जहाँ उनीहरूले राम्रो खाना पाउन सक्छन्।

यी खोजी गर्ने कमिलाहरू विभिन्न बाटोमा जथाभावी निस्कन्छन्, ताकि उनीहरूका अगाडि सबै विकल्प खुला रहून् र धेरै बाटोको खोजी गर्न सकून्।

बाटोमा जाँदा र फर्कंदा उनीहरूले जमिनमा ‘फेरोमोन’ को हल्का गन्ध छाड्छन्, ताकि पछि आउने अन्य कमिलाहरूले पनि त्यो बाटो पछ्याउन सकून्।

फेरोमोन एक प्रकारको रासायनिक पदार्थ हो, जसलाई कीरा तथा केही जीवजन्तुले आफ्नो शरीरबाट बाहिर निकाल्छन्।

समय बित्दै जाँदा फेरोमोनको गन्ध कम हुँदै जान्छ। त्यसैले कमिलाहरूले फेरोमोनको गन्ध सबैभन्दा तीव्र भएको बाटोलाई बढी प्राथमिकता दिन्छन्।

सबैभन्दा राम्रो र सजिलो बाटो पत्ता लगाउने कमिलाहरू खाना लिएर छिट्टै फर्किन्छन्। उनीहरूले फेरोमोनको गन्ध हराउनुअघि त्यही बाटोमा फेरि गन्ध छाड्छन्।

यसले अन्य कमिलाहरूलाई पनि त्यही बाटोमा जान प्रेरित गर्छ। बिस्तारै धेरै कमिलाहरू त्यही बाटोबाट ओहोरदोहोर गर्न थाल्छन् र त्यहाँ धेरै फेरोमोन जम्मा हुन्छ।

त्यसैले त्यो बाटोको गन्ध अझ तीव्र हुन्छ र कमिलाहरूले त्यसलाई अझ सजिलै पहिचान गर्न सक्छन्।

यसरी समय बित्दै जाँदा राम्रो बाटोमा बढीभन्दा बढी फेरोमोन जम्मा हुँदै जान्छ, अन्य बाटोमा यसको गन्ध बिस्तारै हराउँदै जान्छ।

अन्ततः कमिलाहरूको पूरै समूह मिलेर सबैभन्दा सजिलो बाटो पत्ता लगाउँछ।

बेल्जियमको युनिभर्सिटी लिब्रे डी ब्रसेल्सको आर्टिफिसियल इन्टेलिजेन्स प्रयोगशालाका सहनिर्देशक मार्को डोरिगो भन्छन्, “कमिला निकै सामान्य जीव हो। उनीहरूसँग सीमित क्षमता र आफ्नो वरिपरिको सीमित जानकारी हुन्छ। तैपनि उनीहरू मिलेर निकै जटिल समस्याको समाधान गर्न सक्छन्। यसबाट हामीले केन्द्रीय नियन्त्रणबिना पनि मिलेर सही निर्णय लिन सकिन्छ भनेर सिक्न सक्छौँ।”

यस विधिलाई ‘एन्ट कोलोनी अप्टिमाइजेसन’ भनिन्छ। यसलाई कम्प्युटर प्रोग्राम (एल्गोरिदम) का रूपमा पनि प्रयोग गरिएको छ।

यसको सहयोगमा विश्वभर मानिसहरूको कामको समय निर्धारण, दूरसञ्चार, यातायात तथा सामान वितरण प्रणालीलाई अझ प्रभावकारी बनाइन्छ।

उदाहरणका लागि, विशेषज्ञहरूले यसको प्रयोग रेलवेको योजना बनाउन गरेका छन्।

मार्को डोरिगोले ‘एन्टनेट’ नामको एउटा प्रणाली पनि विकास गरेका छन्, जसले सञ्चार सञ्जालमा सूचनालाई एक ठाउँबाट अर्को ठाउँमा छिटो र सही रूपमा पुर्‍याउन सहयोग गर्छ।

मौरीहरूले कसरी निर्णय गर्छन्?

नयाँ घार बनाउन ठाउँ खोज्दा मौरीहरूले कमिलाको तरिकासँग निकै मिल्दोजुल्दो विधि अपनाउँछन्।

कमिलाजस्तै मौरीहरू पनि मिलेर आफ्नो नयाँ घर बनाउने ठाउँ खोज्छन्। केही मौरीहरू बाहिर गएर कमिलाजस्तै विभिन्न ठाउँमा उड्छन्।

तर कमिलाले जस्तो फेरोमोन छाड्नुको सट्टा उनीहरू घारमा फर्किएर अन्य मौरीलाई कुन ठाउँ राम्रो छ भनेर जानकारी दिन्छन्।

यसका लागि उनीहरूले ‘वैगल डान्स’ गर्छन्। आफ्नो शरीरलाई विशेष तरिकाले हल्लाएर उनीहरूले नयाँ ठाउँ कति सुरक्षित छ, कति नजिक छ, कति ठूलो छ र कति राम्रो छ भन्ने जानकारी दिन्छन्।

जति राम्रो ठाउँ हुन्छ, मौरीहरू त्यति नै लामो समयसम्म नाच्छन्।

समय बित्दै जाँदा एउटा ठाउँ सबैभन्दा बढी रुचाइने ठाउँ बन्न पुग्छ। करिब २०-२५ वटा मौरी एउटै ठाउँबारे सकारात्मक संकेत दिन नाच्दै फर्किन्छन्।

जब पर्याप्त मौरीले उक्त ठाउँलाई मन पराउँछन्, सबै मिलेर त्यही ठाउँमा जाने निर्णय गर्छन्।

यो केही हदसम्म मानिसहरूको लोकतन्त्रमा बहुमतका आधारमा निर्णय लिनुजस्तै हो।

फट्याङ्ग्राको निर्णय बदल्ने क्षमता

जब कुनै समूहमा दुईवटा फरक मत हुन्छन्, मानिसलाई आफ्नो विचार बदल्न मनाउनु निकै कठिन हुन्छ। त्यसपछि बहस बढ्दै जाँदा अवस्था यस्तो हुन्छ कि मानिसहरू भन्छन्, “यही मात्र सही हो, अर्को गलत हो।” यसले सबैलाई आफ्नो अडानमा झन् बढी अडिग बनाउँछ।

धेरै साना उमेरका फट्याङ्ग्राहरू उड्न सक्दैनन्, त्यसैले उनीहरू एउटा ठाउँबाट अर्को ठाउँमा हिँडेर जान्छन्।

बेलायतको युनिभर्सिटी अफ बाथका गणितीय जीवविज्ञानका प्राध्यापक क्रिश्चियन (किट) येट्सले आफ्नो प्रयोगमा फट्याङ्ग्राका समूहलाई गोलाकार ठाउँमा राखे।

उनले फट्याङ्ग्राहरूले मिलेर कुन दिशामा जाने भन्ने निर्णय गर्ने गरेको देखे।

उनले पत्ता लगाए कि केही समय रोकिएपछि वा अन्योलमा परेपछि फट्याङ्ग्राहरू बारम्बार आफ्नो दिशा परिवर्तन गर्छन्। अर्थात्, उनीहरूले सुरुमा एउटा दिशामा जाने निर्णय गर्छन्, त्यसपछि रोकिन्छन् र अर्को दिशातर्फ मोडिन्छन्।

जब फट्याङ्ग्राको झुन्ड कुनै एउटा दिशामा अघि बढिरहेको हुन्छ, केही फट्याङ्ग्राहरू केही समयका लागि हिँड्न रोक्छन् र न त ‘एक्स’ रोज्छन्, न ‘वाई’।

यो छोटो समयको विराम निकै महत्वपूर्ण हुन्छ। यही कारणले पूरै झुन्ड एउटा निर्णयबाट अर्को निर्णयमा सहज रूपमा जान सक्छ।

येट्सले १९ जना मानिसमा पनि यस्तै प्रयोग गरे। यसमा मानिसहरूले ‘एक्स’ वा ‘वाई’ मध्ये एउटा छनोट गर्नुपर्थ्यो, तर उनीहरूलाई केही समयका लागि कुनै निर्णय नगर्ने विकल्प पनि दिइएको थियो।

नतिजामा के देखियो भने मानिसहरूलाई केही समय निर्णय नगर्ने विकल्प दिइँदा पूरै समूह छिटो र सहज रूपमा एउटै निर्णयमा पुग्यो।

अर्थात्, कहिलेकाहीँ तुरुन्तै निर्णय लिनुको सट्टा केही समय पर्खिनुले पूरै समूहलाई एउटै निर्णयमा पुग्न सहयोग गर्छ।

येट्सका अनुसार फट्याङ्ग्रा जस्तै मानिसहरूलाई पनि कुनै विकल्प नछान्ने सुविधा दिँदा समूहलाई अझ छिटो कुनै एउटा निर्णयमा पुग्न मद्दत भयो।

येट्सका अनुसार धेरै मानिसहरू एकैपटक कुनै एउटा निर्णयमा अडिग हुँदा एक व्यक्तिको विचार परिवर्तनले खासै फरक पार्दैन। तर यदि धेरै मानिसहरूले केही समयका लागि निर्णय लिन स्थगित गरे भने निर्णय लिइरहेको समूह सानो हुन्छ।

येट्स भन्छन्, “जब निर्णय लिने मानिसहरूको संख्या कम हुन्छ, उनीहरूको विचार सजिलै परिवर्तन गर्न सकिन्छ।”

येट्सका अनुसार फट्याङ्ग्राबाट हामीले के सिक्न सक्छौँ भने कहिलेकाहीँ कुनै निर्णयको पक्षमा तुरुन्तै उभिनुभन्दा केही समय लिनु ठीक हुन्छ। यसले सबैलाई फेरि सोच्ने मौका दिन्छ र अन्ततः एउटै मतमा पुग्न सहयोग गर्न सक्छ।

साङ्लाले के सिकाउँछन्?

कुनै बहसमा धेरै प्रभावशाली मानिसहरू सहभागी हुँदा समूहलाई एउटै निर्णयमा पुग्न कठिन हुन्छ। धेरै मानिसले आफूलाई सबैभन्दा महत्त्वपूर्ण ठानेर बहसलाई आफ्नै दिशामा मोड्न सक्छन् र अरूको विचारमाथि हावी हुन सक्छन्।

तर साङ्लामाथि गरिएको एउटा अध्ययनले समूहमा विभिन्न प्रकारका व्यक्तित्व भएका सदस्य हुनु वास्तवमा निर्णय लिने प्रक्रियालाई छिटो बनाउन सक्ने देखाएको छ।

केही साङ्ला निडर हुन्छन् भने केही डरपोक हुन्छन्। त्यसैले जापानको टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका सहायक प्राध्यापक इसाक प्लानास सिट्जाले कम्प्युटर मोडेलमार्फत साङ्लाहरूले मिलेर कुनै ठाउँ कसरी छनोट गर्छन् भन्ने अध्ययन गरे।

यसमा उनले साङ्लाहरूले फ्रिजपछाडिको अँध्यारो कुनाजस्तै कुनै विशेष अँध्यारो ठाउँलाई लुक्ने स्थानका रूपमा कसरी छनोट गर्छन् भन्ने देखाउने प्रयास गरे। उनले यसका लागि तीन प्रकारका मोडेल बनाए- पहिलो, सबै साङ्लाको व्यवहार समान हुने; दोस्रो, केही साङ्लाको स्वभाव फरक हुने; र तेस्रो, धेरै साङ्लाको स्वभाव फरक-फरक हुने।

जब सबै साङ्लाले एउटै व्यवहार गर्थे, उनीहरू सही निर्णय लिन निकै कमजोर देखिए। तर उनीहरूको स्वभाव फरक-फरक हुँदा समूहले अझ छिटो निर्णय गर्‍यो। यसको कारण उनीहरूबीच बढी कुराकानी र सम्पर्क हुनु थियो।

सिट्जा भन्छन्, “म निकै अचम्मित भएँ। केही परिवर्तन देखिने अपेक्षा गरेको थिएँ, तर परिणाम यति स्पष्ट होला भन्ने सोचेको थिइनँ।”

यसको अर्थ समूहमा अत्यधिक सक्रिय र धेरै घुमफिर गर्ने साङ्ला मात्र भए भने उनीहरूलाई सही ठाउँ छनोट गर्न कठिन हुन्छ, किनकि उनीहरू लगातार यताउता घुमिरहन्छन्।

त्यसैगरी, समूहमा अत्याधिक लजालु साङ्ला मात्र भए भने उनीहरूले चाँडै कुनै ठाउँ छनोट गर्न सक्छन्, तर त्यो ठाउँ राम्रो नै हुन्छ भन्ने आवश्यक छैन।

सिट्जा भन्छन्, “समूहका सदस्यबीच सहकार्य गर्ने क्षमता र फरक-फरक व्यवहारबीचको सही सन्तुलनले समूहको सामूहिक बुद्धिमत्तालाई सुधार गर्छ। यदि यी साना जीवमा पनि व्यक्तित्वले यति ठूलो भूमिका खेल्छ भने अझ जटिल सामाजिक समूहमा बस्ने जीवमा यसको प्रभाव झन् बढी हुन सक्छ।”

निर्णय लिनुअघि झिँगाले गर्ने जानकारी संकलन

कहिलेकाहीँ हामी आफ्नो मनको आवाजलाई दबाएर आफूलाई तर्कसंगत लाग्ने निर्णय गर्छौँ, भलै भित्रबाट त्यो निर्णय गलतजस्तो महसुस भइरहेको किन नहोस्। अर्कोतर्फ, कहिलेकाहीँ हामी आफ्नो पूर्वधारणाका आधारमा निर्णय गर्छौँ र विगतका गल्तीबाट केही सिक्दैनौँ।

फलफूलमा पाइने झिँगा (फ्रुट फ्लाइज) ले पनि आफ्ना निर्णयबारे अझ सचेत रहने तरिकाका बारेमा हामीलाई धेरै कुरा सिकाउन सक्छन्।

फलफूलका झिँगाले आफ्नो प्रत्येक कदमको निर्णय लिन बाहिरबाट प्राप्त जानकारी र आफ्नो भित्री जानकारीलाई निकै राम्रोसँग बुझेर संयोजन गर्छन् भन्ने अनुसन्धानले देखाएको छ। उदाहरणका लागि, जब उनीहरूले दुई प्रकारका गन्धमध्ये एउटा छनोट गर्नुपर्छ र दुवै गन्ध उस्तै छन् भने यी झिँगाले निर्णय लिन बढी समय लगाउँछन्। यस्तो लाग्छ, मानौँ उनीहरूले दुवै विकल्पका फाइदा र बेफाइदा तौलिरहेका छन्।

जब उनीहरूलाई स्वादमा राम्रो तर पोषण नभएको खाना वा स्वादमा तीतो तर पौष्टिक पदार्थ दिइन्छ, झिँगाले त्यसका सबै फाइदा र बेफाइदाको हिसाब गर्न सक्छन्। पोषण प्राप्त गर्न उनीहरूले खराब स्वाद भएको खाना पनि खान्छन्।

यी झिँगाहरू सामान्यतया ठूलो पुरस्कारका लागि जोखिम मोल्नुको सट्टा सानो तर सुरक्षित पुरस्कार रोज्न रुचाउँछन्।

यद्यपि, यदि उनीहरू धेरै भोकाएका छन् वा तनावमा छन् भने उनीहरूको निर्णय परिवर्तन हुन सक्छ। जब झिँगालाई कुनै गन्धसँग राम्रो वा नराम्रो अनुभव गराइन्छ, स्वस्थ झिँगाले आफूलाई धेरै जानकारी नभएको गन्धलाई पनि परीक्षण गर्ने साहस गर्छन्। तर तनावमा रहेका झिँगाहरू जोखिम लिनबाट बच्न खोज्छन्।

झिँगाजस्तै मनोदशाले पनि कहिलेकाहीँ मानिसको निर्णयमा प्रभाव पार्छ। तर हाम्रा आन्तरिक भावना र विगतका अनुभवले पनि सही निर्णय लिन सहयोग गर्न सक्छन्। यी भावनाहरू आफू र अरूबारे भएका हाम्रा साना-साना अनुभव तथा धारणाबाट निर्माण हुन्छन्।

(बीबीसीबाट)