काठमाडौँ । मेटाले इन्स्टाग्रामका लागि नयाँ शब्दचिह्न (wordmark) सार्वजनिक गरेको छ ।
सामाजिक सञ्जालको नाम मात्र समेटिएको नयाँ शब्दचिह्नमा पुरानो डिजाइनलाई परिमार्जन गर्दै थप सफा र आधुनिक रूप दिइएको हो।
इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले सामाजिक सञ्जालमार्फत एपको माथिल्लो भागमा देखिने शब्दचिह्न १० वर्षदेखि परिवर्तन नगरिएको भन्दै नयाँ रूप दिनुपर्ने समय आएको बताएका छन् ।
मोसेरीका अनुसार नयाँ शब्दचिह्न पहिलेभन्दा सफा र आधुनिक छ । यसमा इन्स्टाग्रामको मूल डिजाइनको झल्को कायम राख्दै सरलता र कलात्मकतालाई प्राथमिकता दिइएको छ।
मेटाले जारी गरेको विज्ञप्तिअनुसार नयाँ डिजाइन तयार गर्ने क्रममा सयौँ नमुना परीक्षण गरिएको थियो। ठूला अक्षरदेखि हातले लेखिएको शैलीसम्मका विभिन्न डिजाइनमाथि छलफल गरेपछि अन्ततः प्रवाहपूर्ण रेखा भएको अक्षर शैली छनोट गरिएको हो।
इन्स्टाग्रामकी उत्पादन डिजाइन निर्देशक जैस्मिन प्रोब्स्टका अनुसार नयाँ अक्षर शैलीले व्यक्तिगत पहिचानलाई झल्काउने भएकाले त्यसलाई प्रयोग गर्नु उपयुक्त ठानिएको हो । उनका अनुसार नयाँ शब्दचिह्न पहिलेभन्दा बाक्लो र सरल छ । यसमा केही अनपेक्षित विशेषता पनि राखिएको छ, जसले व्यक्तिगत अभिव्यक्ति र व्यक्तिगत आवाजलाई झल्काउँछ । व्यक्तिगत अभिव्यक्ति इन्स्टाग्रामको सुरुदेखिकै मुख्य विशेषता रहँदै आएको उनले बताएकी छन् ।
शब्दचिह्नसँगै इन्स्टाग्रामले अन्य अक्षर शैलीमा समेत परिवर्तन गरेको छ । प्रयोगकर्ताले नयाँ इन्स्टाग्राम अक्षर शैलीका साथै हातले लेखेजस्तो देखिने नयाँ अक्षर शैली र इन्स्टाग्रामका लागि तयार गरिएको नयाँ एकल अक्षर शैली पनि प्रयोगमा देख्नेछन् ।