• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

इन्डोनेसियामा शक्तिशाली भूकम्प, दर्जनौं पराकम्पन, १४ जनाको मृत्यु

काठमाडौँ । इन्डोनेसियामा शनिबार बिहान गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको विपद् न्यूनीकरण निकायका अनुसार भूकम्पमा अन्य केही व्यक्ति घाइते भएका छन्।

स्थानीय समयअनुसार बिहान करिब ५ बजे गएको भूकम्पको गहिराइ १५ किलोमिटर रहेको थियो । भूकम्पको केन्द्रबिन्दु पूर्वी नुसा तेङ्गाराको नागेकेओबाट करिब ३० किलोमिटर टाढा रहेको बताइएको छ ।

उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। भूकम्पबाट क्षतिग्रस्त भवनमा फसेका मानिसको उद्धार गर्न टोली परिचालन गरिएको छ ।

भूकम्पपछि दर्जनौँ परकम्पसमेत आएका छन्। तीमध्ये ६.१ म्याग्निच्युडको परकम्प शक्तिशाली रहेको जनाइएको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो। तर, प्रारम्भिक भूकम्प गएको करिब तीन घण्टापछि उक्त चेतावनी हटाइएको छ ।

भूकम्प स्थानीय समयअनुसार शनिबार बिहान फ्लोरेस टापुमा गएको थियो । इन्डोनेसियाको मौसम तथा भूभौतिकी निकायका अनुसार भूकम्पको केन्द्र १५ किलोमिटर गहिराइमा थियो। भूकम्पको केन्द्र सतहको नजिक हुँदा त्यसको प्रभाव सामान्यतया बढी विनाशकारी हुने गर्छ ।

भूकम्पबाट माउमेरे बन्दरगाह क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । सार्वजनिक भएका दृश्यमा अन्तरद्वीपीय यात्रु पानीजहाज चढ्न प्रतीक्षा गरिरहेको टर्मिनल भवनको कङ्क्रिटको ठूलो भाग खसेको देखिएको छ । पानीजहाजतर्फ जाने बाटो भत्किँदा केही मानिस समुद्रमा खसेका थिए । उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएको छ। क्षतिको पूर्ण विवरण संकलन गर्ने कामसमेत भइरहेको अधिकारीहरूले बताएका छन् ।