• २०८३ साउन ३०
  • 2026 August 15, Saturday

काठमाडौंमा भारतको ८० औँ स्वतन्त्रता दिवस मनाइयो, मृतक सैनिकका परिवारलाई ८ करोड २० लाख प्रदान

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले शनिबार भारतको ८० औँ स्वतन्त्रता दिवस मनाएको छ। ‘वन्दे मातरम्’ गीतको गायनसँगै सुरु भएको कार्यक्रममा नेपालका लागि भारतीय राजदूतले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए।

त्यसलगत्तै राष्ट्रगान गाइनुका साथै ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रका नाममा गरेको सम्बोधनको भिडियो प्रसारण गरिएको थियो।

कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका ११ जना दिवंगत सुरक्षाकर्मीका एकल (वीर नारी) तथा निकटतम आश्रितहरूलाई सम्मान गरे। उनले कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको ‘आर्मी ग्रुप इन्स्योरेन्स फन्ड’ (एजिआइएफ) को चेकसमेत मृतकका परिवारलाई हस्तान्तरण गरेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

स्वतन्त्रता दिवसको अवसर पारेर दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेताहरूलाई पनि समारोहमा पुरस्कृत गरिएको थियो। ‘विकसित भारत’ विषयक चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’, अन्तर-विद्यालय हाजिरी जवाफ प्रतियोगिता र ‘भारत को जानिये’ (भारतलाई चिन्नुहोस्) हाजिरी जवाफ प्रतियोगिताको विशेष संस्करणका विजेताहरूलाई राजदूतले सम्मान गरेका थिए।

यसैबीच, शैक्षिक सामग्रीमाथिको पहुँच बढाउने उद्देश्यका साथ दूतावासले नेपालका सातवटै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयहरूलाई पुस्तक अनुदान दिने घोषणा समेत गरेको छ।

समारोहमा नेपालमा रहेका भारतीय समुदाय, भारतका शुभचिन्तक तथा दूतावासका अधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। समारोहमा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीहरूले देशभक्तिपूर्ण गीतहरू गाउनुका साथै विभिन्न आकर्षक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए।