जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा आएको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ । पहिरोमा परी बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ ।
शनिबार साँझ ५ : ३० बजे आएको पहिरोमा परी स्थानीय ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका थिए । घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज र सुर्खेत पठाइएको छ ।
जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि नेपालगन्जस्थित मेडिकल कलेज कोहलपुरमा उपचाररत भेरी नगरपालिका–२ साल्धारा निवासी ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । यसअघि पहिरोमा बेपत्ता भएका चार जनामध्ये ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको थियो ।
हाल भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस बि.क. अझै बेपत्ता छन् । हरिस पहिरोपछि घरबाट बाहिर निस्किएपछि सम्पर्कविहीन भएका हुन् ।
बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहितको टोलीले खोजी कार्य जारी राखेको छ ।
पहिरोले रिसाङका आठ वटा घरमा समेत ठूलो क्षति पुर्याएको छ । स्थानीय क्षेत्रमा वर्षा र पहिरोको जोखिम कायमै रहेकाले खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।