• २०८३ साउन ३१
  • 2026 August 16, Sunday

देउवाले भने- म हिन्दू हुँ, अरु धर्मलाई पनि उत्तिकै सम्मान गर्छु

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू भएको बताउँदै आफू पशुपतिनाथ जाने र पूजा गर्ने गरेको बताएका छन् ।

काँग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा देउवाले हिन्दू धर्मको कुरा उठाएर अर्थपूर्ण सन्देश दिएका छन् । उनले भने- ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ । म पशुपतिनाथ जान्छु। पूजा गर्छु ।’

देउवाले आफू हिन्दू धर्मसँगै बौद्ध धर्मलाई पनि उत्तिकै सम्मान गर्ने बताए । बौद्ध धर्मलाई संसारले स्वीकार गरेको र वैज्ञानिक धर्मका रूपमा समेत मानिएको उनले बताए । नेपालमा प्रकृतिलाई आधार मानेर धर्म मान्ने समुदाय पनि रहेको उल्लेख गर्दै देउवाले राई र लिम्बू समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको सम्मान गर्नुपर्ने बताए ।

उनले भने, ‘म हिन्दू हुँ । म कसैको विरोधी होइन । नेपालमा मुस्लिम धर्म मान्ने छन्, किराँतहरू छन् । म कसैको खिलाफमा छैन, मैले आफू हिन्दू हो भन्न पाउनु पर्‍यो नि । हिन्दूमा विश्वास गर्न पाउनुपर्‍यो नि मैले । यसमा कुनै कन्फ्युजन नहोस् ।’

उनले नेपाल कस्तो हुने भन्ने कुरा नेपाली जनतामा निर्भर रहने बताउँदै आफूलाई साथ र सहयोग गर्ने नेता तथा कार्यकर्ताको योगदान कहिल्यै नबिर्सने बताए ।

भेलामा देउवाले आफूले विशेष महाधिवेशन स्वीकार नगरे पनि अदालतले गरेको निर्णय भने स्वीकार गर्ने स्पष्ट पारे । उनले पार्टीसम्बन्धी विचाराधीन मुद्दामा अदालतले न्याय दिने विश्वाससमेत उनले व्यक्त गरेका थिए ।