काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको कारोबार र सञ्चालन आम्दानी विस्तार भइरहे पनि अन्तिम नाफामा भने लगातार गिरावट देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको करअघिको नाफा ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा ८ अर्ब ९१ करोड रुपैयाँ थियो।
प्राधिकरणका अनुसार एक वर्षमा करअघिको नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेको हो। यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्राधिकरणले १३ अर्ब ३१ करोड रुपैयाँ करपछिको नाफा आर्जन गरेको थियो। त्यसपछिका दुई आर्थिक वर्षमा नाफा निरन्तर घटेको देखिन्छ।
प्राधिकरणको नाफा घट्नुको प्रमुख कारणमध्ये विदेशी मुद्रासँग सम्बन्धित दायित्वको लागत बढ्नु रहेको छ। प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा भएको वृद्धिका कारण यस्तो दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
विदेशी मुद्रामा रहेको दायित्वको लागत बढ्दा त्यससँग सम्बन्धित ब्याज तथा अन्य वित्तीय भार पनि बढेको प्राधिकरणको भनाइ छ। त्यसैगरी ह्रासकट्टी खर्च बढ्दा सञ्चालनबाट प्राप्त भएको सुधारको पूर्ण प्रभाव अन्तिम नाफामा देखिन सकेन।
प्राधिकरणको विद्युत् कारोबारबाट हुने आम्दानी र सञ्चालन मुनाफा बढिरहेको छ, तर वित्तीय तथा अन्य खर्चको दबाबले अन्तिम नाफा घटिरहेको छ।
नाफामा गिरावट आए पनि प्राधिकरणको विद्युत् बिक्री कारोबार भने उल्लेख्य रूपमा विस्तार भएको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य स्रोतबाट प्राधिकरणले करिब १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ।
त्यसमध्ये विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ प्राप्त भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो। अघिल्लो वर्ष विद्युत् बिक्रीबाट करिब १ खर्ब २५ अर्ब २७ करोड ७० लाख रुपैयाँ आम्दानी भएको थियो।
विद्युत् बिक्री बढ्नुमा विद्युत् खपत विस्तार, सञ्चालनमा सुधार तथा निर्यात वृद्धिको भूमिका रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, विद्युत् चुहावट नियन्त्रण र कार्यसम्पादन सुधारका कारण प्राधिकरणको कुल मुनाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ७.२८ प्रतिशतले बढेर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणको वित्तीय संरचनामा विद्युत् खरिद र सञ्चालन खर्च महत्वपूर्ण भारका रूपमा रहेका छन्। उपलब्ध वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षमा विद्युत् खरिदमा मात्रै ७७ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो। यस्तो खर्च अघिल्लो वर्षको तुलनामा ११.७३ प्रतिशतले बढेको थियो।
त्यसैगरी सञ्चालन खर्च १०.१५ प्रतिशतले बढेर ९७ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको थियो। विद्युत् खरिद तथा सञ्चालन खर्चसँगै ब्याज र अन्य वित्तीय दायित्व बढ्दा प्राधिकरणको अन्तिम नाफामा दबाब परेको हो।
नाफामा कमी आए पनि प्राधिकरणको सम्पत्तिको आकार भने बढेको छ। आर्थिक वर्ष २०८२/८३ मा प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ।
निर्माणाधीन पुँजीगत आयोजनामा प्राधिकरणको २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको छ। समीक्षा अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ बराबरका आयोजना तथा सम्पत्ति पुँजीकरण गरिएको छ।
यसले प्राधिकरणले विद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार विस्तारमा ठूलो लगानी गरिरहेको देखाउँछ। तर यस्ता दीर्घकालीन आयोजनामा भएको लगानीको प्रतिफल तत्कालै नाफामा प्रतिबिम्बित नहुने भएकाले सम्पत्ति बढ्दै जाँदा पनि छोटो अवधिको नाफा घट्न सक्ने अवस्था रहन्छ।