• २०८३ भदौ २
  • 2026 August 18, Tuesday

माछापुच्छ्रे बैङ्कको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) पदमा कल्याण विक्रम पाँडे नियुक्त भएका छन्। उनले मिति २०८३ साउन २९ गते (१४ अगस्ट २०२६) देखि बैङ्कमा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार ग्रहण गरेका छन्।

बैङ्किङ क्षेत्रमा करिब २५ वर्षभन्दा बढीको अनुभव सँगाल्नुभएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आईएमई बैङ्क, साबिकको जनता बैङ्क, लक्ष्मी बैङ्क तथा कुमारी बैङ्क लगायतका बैङ्कहरूमा विभिन्न महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गरेका छन्।

त्रिभुवन विश्वविद्यालयबाट वित्त विषयमा एमबिए प्रथम श्रेणीसहित तथा अलिगढ मुस्लिम विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनियरिङ विथ अनर्समा बी-टेक उपाधि हासिल गरेका पाँडेसँग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा प्रबन्ध, एसेट तथा रिटेल बैङ्किङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेजरी फाइनान्स र ट्रान्जेक्सन बैङ्किङ क्षेत्रको गहिरो अनुभव रहेको छ।

त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैङ्किङ लगायतका क्षेत्रमा समेत उनले महत्त्वपूर्ण अनुभव हासिल गरेका छन्।

नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्तिसँगै माछापुच्छ्रे बैङ्कले लामो बैङ्किङ अनुभव तथा वित्तीय विशेषज्ञताबाट बैङ्कको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ।