काठमाडौं । नेपालको दुर्गम जिल्ला खोटाङमा जन्मिएर भारतमा आफ्नो व्यावसायिक साम्राज्य खडा गरेका उद्यमी दीपजंग थापा अहिले चर्चाको शिखरमा छन्। भारतको अग्रणी साइबर सुरक्षा संस्था ‘क्राटिकल टेक लिमिटेड’ (Kratikal Tech Ltd.) का सह-संस्थापक थापा बम्बई स्टक एक्सचेन्ज (BSE) मा आफ्नो कम्पनी सूचीकृत गराउन सफल पहिलो नेपाली उद्यमी बनेका छन्।
हालै नेपालस्थित भारतीय दूतावाससँगको कुराकानीमा थापाले आफ्नो शैक्षिक यात्रा, संघर्ष र सफलताका कथाहरू साझा गरेका छन्।
खोटाङमा हुर्किएका थापाको जीवनमा सशस्त्र द्वन्द्वले एउटा नयाँ मोड ल्याइदियो। गाउँको विद्यालय बन्द भएपछि उनी शिक्षाको खोजीमा भारतको पश्चिम बंगालस्थित माल बजार पुगे। “त्यो कुनै योजनाबद्ध निर्णय थिएन, तर बाध्यताले गर्दा म भारत पुगेँ, जसले मेरो जीवनको मार्ग नै परिवर्तन गरिदियो,” उनले सम्झिए।
उच्च शिक्षाका लागि भारतको प्रतिष्ठित ‘MNNIT इलाहाबाद’ पुगेका थापाले इन्जिनियरिङ पढ्दै गर्दा नै उद्यमशीलताको बाटो रोजेका थिए। कलेजको तेस्रो सेमेस्टरमा रहँदा उनका साथी पवन कुशवाहाको इमेल ह्याक भएपछि उनीहरूले साइबर सुरक्षाको महत्व बुझे। त्यही घटनाले उनीहरूलाई ‘क्राटिकल टेक’ स्थापना गर्न प्रेरित गर्यो।
थापाले पेटीएम (Paytm) मा करिब डेढ वर्ष काम गरेपछि २०१७ मा जागिर छाडेर पूर्णकालीन रूपमा आफ्नो स्टार्टअपमा होमिएका थिए। आज उनको कम्पनी ‘CERT-In Empanelled’ र AI-आधारित साइबर सुरक्षाको क्षेत्रमा भारतको एक प्रमुख नाम बनेको छ।
थापाका अनुसार, बम्बई स्टक एक्सचेन्जमा कम्पनी सूचीकृत गर्नु उनीहरूको सुरुवाती लक्ष्य थिएन। “हाम्रो ध्यान सधैं ग्राहकका समस्या समाधान गर्नेमा थियो। व्यापार विस्तार गर्दै जाँदा लिस्टिङ एक स्वभाविक प्रक्रिया बन्यो,” उनले भने। यो उपलब्धिले नेपाली युवाहरू पनि अन्तर्राष्ट्रिय स्तरमा ठूला व्यापारिक उचाइ छुन सक्छन् भन्ने उदाहरण पेश गरेको छ।
भारत विश्वकै सबैभन्दा छिटो बढिरहेको स्टार्टअप इकोसिस्टम भएको उल्लेख गर्दै थापाले भारत सरकारका ‘स्टार्टअप इन्डिया’ र ‘TCOE’ जस्ता कार्यक्रमले आफ्नो कम्पनीलाई बलियो आधार दिएको बताए।
नेपाली विद्यार्थीहरूका लागि भारतमा शिक्षा र अवसरका ढोकाहरू खुल्ला रहेको उनको भनाइ छ। उनले DASA (Direct Admission of Students Abroad) योजना, स्टडी इन इन्डिया (SII) पोर्टल र ICCR छात्रवृत्ति जस्ता सुविधाहरूको सदुपयोग गर्न सुझाव दिएका छन्।
आफ्नो सफलताको श्रेय सही वातावरण र कडा परिश्रमलाई दिँदै थापाले नेपाली युवाहरूलाई भने, “डिग्री एउटा सुरुवात मात्र हो। भारतमा उपलब्ध व्यावसायिक सञ्जाल, मार्गदर्शन (Mentorship) र औद्योगिक अवसरहरूको फाइदा उठाउनुहोस्। सही वातावरणमा रहँदा तपाईंको क्षितिज अझ फराकिलो हुन्छ।”
खोटाङको दुर्गम गाउँदेखि मुम्बईको शेयर बजारसम्मको दीपजंग थापाको यो यात्रा हजारौँ नेपाली युवाका लागि प्रेरणाको स्रोत बनेको छ।