• २०८३ भदौ ३
  • 2026 August 19, Wednesday

संसदमा बादलको सम्बोधन: राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’, बालेनसहितलाई हटाउन लामिछानेलाई आग्रह

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारको विदेश नीति, राष्ट्रिय सुरक्षा र शासन सञ्चालनप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारको छोटो कार्यकालमै राष्ट्रियता, लोकतन्त्र र जनजीविकामाथि गम्भीर संकट उत्पन्न भएको आरोप लगाए ।

थापाले सरकारको विदेश नीति र राष्ट्रिय सुरक्षा नीतिमा ‘खतरनाक विचलन’ देखिएको दाबी गर्दै सरकारले हालै तिब्बती निर्वासित सरकार र पश्चिमी कूटनीतिज्ञहरूलाई दलाई लामाको जन्मोत्सवका नाममा नेपालमा राजनीतिक गतिविधि गर्न अनुमति दिएको बताए ।

नेपालको भूमि कुनै पनि अवस्थामा तिब्बती गतिविधि वा अर्को खम्पा विद्रोहका लागि प्रयोग हुन नहुने बताउँदै उनले चीनको आपत्तिपछि नेपालमा आयोजना हुने भनिएको एक अन्तर्राष्ट्रिय सम्मेलनसमेत स्थगित भएको उनले दाबी गरे ।

थापाले नेपालमा रहेका निर्वासित तिब्बतीहरूलाई मानवीय आधारमा आश्रय दिइएको भए पनि उनीहरूलाई राजनीतिक शरणार्थीका रूपमा मान्यता नदिइएको स्मरण गराए । केही शोधकर्ताले तिब्बती गुम्बाहरूमा ठूलो मात्रामा शक्ति सङ्ग्रह भइरहेको र गत भदौमा लुटिएका हतियारसमेत त्यहाँ लुकाइएको आशङ्का गरेको उल्लेख गर्दै उनले यस विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।

प्रतिनिधिसभामा बोल्दै थापाले गत भदौमा भएको आन्दोलन र त्यसपछिको सत्ता परिवर्तनप्रति पनि प्रश्न उठाए । देश धुवाँ र खरानीले घेरिएको दृश्य अझै आफ्नो मानसपटलमा रहेको भन्दै उनले उक्त घटनालाई सुनियोजित भएको दाबी गरे । उनले भदौ २३ गते आन्दोलनमा घुसपैठ भएको भन्दै त्यसबेला जेनजी आन्दोलनका आयोजकले वक्तव्यमार्फत सर्वसाधारणलाई घर फर्किन आह्वान गरेको स्मरण गर्दै त्यसपछि नागरिकको ज्यान गएको बताए ।

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीसहित सरकार पुनर्गठन गर्न आग्रहसमेत गरे । प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमा सुधार नआए र लामिछानेले सरकार पुनर्गठनको पहल नगरे आफूहरू आन्दोलनमा जान बाध्य हुने उनको चेतावनी समेत ।

उनले राष्ट्रियता, लोकतन्त्र र जनजीविका पुनर्स्थापनाका लागि विगतका ठूला आन्दोलनभन्दा पनि व्यापक जनआन्दोलन हुन सक्ने चेतावनी दिए । देशको वर्तमान अवस्थाले जनतामा असन्तुष्टि बढाउँदै लगेको उनको दाबी थियो । साथै थापाले सरकारलाई राष्ट्रिय हित, सुरक्षा र जनजीविकाका विषयमा तत्काल आफ्नो नीति र कार्यशैली सुधार गर्न आग्रह गरेका छन् ।